
काँग्रेसमा महाधिवेशन सर्ने निश्चित, ईतरपक्ष नै दुई मतमा
काठमाडौं – नेपाली काँग्रेसको महाधिवेशन तोकिएको समयमा नहुने करिब करिब निश्चित भएपछि संस्थापन इतर समूहका रहेका रामचन्द्र पौडेलले असन्तुष्टि जनाएका छन् ।
सोमबार बिहान सामाजिक सञ्जालमार्फत आक्रामक रुपमा प्रस्तुत भएका उनले पार्टी सभापति शेरबहादुर देउवा असफल व्यक्ति भएको भन्दै उनीबाट केही अपेक्षा गर्न नसकिने बताएका थिए ।
पौडेलले भदौमा महाधिवेशन हुन नसक्ने हो भने विशेष महाधिवेशनमा जानुपर्नेमा जोड दिँदै आएका छन् । तर, संस्थापन इतर समूहमै विशेष महाधिवेशनको पक्षमा माहोल नदेखिएपछि पौडेल आक्रोशित बनेका हुन् ।
महाधिवेशन समयमा नगरेर नेपाली काँग्रेसलाई निर्वाचन आयोगसँग भीख माग्ने निरीह अवस्थामा पुर्याएको समेत उनले आरोप लगाएका छन् । पौडेलले यस्तो बताए पनि महामन्त्री शशांक कोइरालाले भने महाधिवेशन सर्ने स्पष्ट पारिसकेका छन् ।
अहिलेसम्म सभापति देउवासहितका नेताहरुले महाधिवेशन सार्नेबारे केही नबोले पनि शशांकले यसबारे सार्वजनिक रुपमा बोलिसकेका छन् ।
सोही अनुसार नेपाली काँग्रेसका नेताहरु १४ औं महाधिवेशन सार्ने गृहकार्यमा जुटिसकेका छन् । क्रियाशील सदस्यताको विवाद टुंगोमा नपुगेपछि भदौ १६-१९ का लागि तय भएको महाधिवेशन कार्यतालिका प्रभावित भइसकेको अवस्थामा अब महाधिवेशन सार्नुबाहेक अर्को विकल्प नभएको काँग्रेसका नेताहरुको भनाइ छ ।



कागजपत्र |
