एमाले केन्द्रीय कमिटी बैठक बस्दै, के-के छन् छलफलका एजेण्डा ?


काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। एमालेमा एकताको प्रयास भन्दै हिजो आइतबारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक आज सोमबारका लागि सारेको हो।

ललितपुरको च्यासलस्थिल तुलसीलाल स्मृति प्रतिष्ठान दिउँसो ३ बजे बस्ने बैठकमा पार्टीको विधान संशोधन,विधान अधिवेशनको तयारी,पार्टी एकता लगायत विषयमा छलफल हुने बताइएको छ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार केन्द्रीय कमिटी बैठक अघि बिहान ११ बजे स्थायी कमिटी बैठक बस्दैछ। बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्नेछ।

नेपाल पक्षसँग सहमति गर्ने प्रयास स्वरुप आइतबारको बैठक सारिएको एमाले संस्थापनको भनाइ छ। आइतबार ओली र नेपाल पक्षका विघटित कार्यदलका नेताहरुबीच छलफल भएको थियो। अनौपचारिक छलफलबाट के कस्तो निष्कर्ष आयो वा के विषयमा छलफल भयो भन्ने कुरा बाहिर आएको छैन।

नेपाल समूहका नेता तथा विघटित कार्यदलका संयोजक रहेका एमाले उपाध्यक्ष भीम रावल आइतबार पार्टी अध्यक्ष ओली र राष्ट्रपति विद्यादेवी भण्डारी समेत भेटेका छन्।

ओली पक्षले डाकेको सोमबारको केन्द्रीय समिति बैठकमा नेपाल पक्ष सहभागी हुने सम्भावना न्यून देखिन्छ । नेपाल समूहले गतसाता आफ्नो पक्षका नेताहरुको केन्द्रीय समिति बैठक राखेको थियो। उक्त बैठकप्रति ओली समूहले आपत्ति जनाएको थियो।

प्रतिक्रिया