शितल निवासमा ३ घन्टासम्म एमाले उपाध्यक्ष रावलले राष्ट्रपति भण्डारीसँग कस्ता परामर्श गरे?


काठमाडौं– पार्टीभित्र दुई नेताको एकताका लागि प्रयत्न गरिरहेका एमाले उपाध्यक्ष भिम रावलले शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग ३ घन्टा परामर्श गरेको खुलेको छ।

अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको टकराबका कारण एमाले विभाजनतिरको यात्रामा लागेका बेला रावलले एकीकरणको प्रयत्न गरिरहेका छन्। दुवै समूहले अलग–अलग बैठक राखी निर्णयहरु गरिरहेका बेला रावलसहित रहेको १० जना नेताको कार्यदलले एकताको १० बुँदे प्रस्ताव अगाडि सारेको थियो।

सो प्रस्तावमा सकारात्मक भए पनि अध्यक्ष ओली र नेपालबीच भेटवार्ता नभइरहेका बेला रावलले राष्ट्रपति भण्डारीलाई पार्टी एकीकरणको वातावरणका लागि परोक्ष भूमिका निभाउन आग्रह गरेको स्रोतले बताएको छ।

सत्ता गठबन्धनले एमाले र राष्ट्रपतिका विषयमा पनि कस्ता तयारी गरिरहेको छ भन्ने सन्दर्भमा शितल निवासमा रावलको ब्रिफिङ भएको बताइन्छ।

राष्ट्रपति भण्डारीले दुवै पक्षलाई सहमतिमा आउने विन्दु पहिल्याउन रावललाई आग्रह गर्दै तत्काल विभाजनतिर जान नहुने राय दिएको बताइन्छ। रावलको उक्त सक्रियतापछि एमालेले आइतबार डाकेको केन्द्रीय कमिटीको बैठक स्थगित गरेको छ।

सम्भवतः राष्ट्रपति भण्डारीले भेटका लागि एमाले नेता नेपाललाई डाकेर एमालेभित्रको विवादलाई साम्य पार्न सहमतितिर जान सुझाव दिनेछिन्।

यसैबीच, उपाध्यक्ष रावलले शनिबार शितल निवास जानुअघि अध्यक्ष ओलीसँग पनि भेटवार्ता गरेका थिए। सो क्रममा एकपक्षीय ढंगले हुने निर्णय रोकी सहमतिअनुसार नै पार्टी गतिविधि गर्दा राम्रो हुने र एकता समेत हुने सुझाव दिएका थिए। रावलले ओलीलाई नेता नेपालसँग वान टु वान वार्ता गर्नका लागि पनि सुझाव दिएको बताइन्छ।

प्रतिक्रिया