

सरकारको एक्लो प्रयासले मात्र कोरोना नियन्त्रण सम्भव छैन : देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको एक्लो प्रयासले कोरोना संक्रमण नियन्त्रणमा सम्भव नभएको बताएका छन्। कोरोना संक्रमणलाई नियन्त्रण गर्न भन्दै शनिबारदेखि शुरु भएको ‘नेपाल मास्क’ अभियानको सन्दर्भमा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् ।
देउवाले सम्पूर्ण राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघ सस्था लगायत पेशा व्यवसायीलाई भीडभाड हुने कुनै पनि गतिविधि नगर्न समेत आग्रह गरे । उनले व्यापार र व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्न पनि व्यवसायीहरुलाई समेत आग्रह गरेका छन् ।
प्रधानमन्त्री देउवाले नेपालमा पनि कोभिड–१९ महामारीको तेस्रो लहर सुरु हुने लक्षण देखिएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ सुरक्षित रहन आग्रह गरेका छन् । उनले सरकारको एक्लो प्रयासले मात्र कोरोना भाइरस संक्रमण नियन्त्रण सम्भव नहुने भन्दै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कदा मास्कको अनिबार्य प्रयोग गर्न आग्रह गरेका छन् ।
उनले अहिले खोप अभियान पनि जारी रहेकाले खोप लगाउन जाँदा सामाजिक दूरी कायम गर्न पनि आग्रह गरेका छन् । प्रधानन्त्री देउवाले सबैको साझा प्रयासले कोभिड महामारीलाई नियन्त्रण गर्न सफल हुने विश्वास पनि व्यक्त गरे ।
सरकारले शनिबारदेखि साउन २९ गतेसम्म ‘नेपाल मास्क अभियान’ सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता‚ मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ अभियान सुरु गरेको हो ।
अभियानमा कोरोना रोकथाम तथा निन्त्रणमा नागरिकलाई जिम्मेवार बनाउने‚ मास्क प्रयोगको महत्त्व बझाउने राष्ट्रिय स्वास्थ्य शिक्षा‚ सूचना तथा सञ्चाल केन्द्रकी निर्देशक डा। राधिका थपलियाले बताइन् । अभियानका लागि ‘म पनि मास्क लगाउँछु‚ अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु’, ‘म जिम्मेवार नेपाली’ लगायतका नारा तय गरिएको छ ।

