

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक, मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुने

काठमाडौं – नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । शुक्रबार (आज) पार्टी मुख्यालय पेरिसडाँडामा अपराह्न ४ बजे बैठक बस्न लागेको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए ।
बैठकमा सरकार सञ्चालन, पार्टीको केन्द्रीय कमिटी बैठकको तयारी, साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुने उनले बताए ।
सरकारका न्यूनतम साझा कार्यक्रम तय गर्न गठित सत्तारूढ गठबन्धनको कार्यदलले आजै प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेतालाई प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री देउवा गठबन्धनको प्रतिवेदन आएपछि मात्र सरकार विस्तार गर्ने तयारीमा छन् ।
माओवादीमा मन्त्री बन्ने आकांक्षी नेताहरु धेरै भएपछि नेतृत्वलाई छान्न सकस परिरहेको छ । गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले अहिलेसम्म आफ्नो मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् । पहिलो चरणमा काँग्रेसका दुई र माओवादीका २ जना मन्त्री नियुक्त गरेका प्रधानमन्त्री देउवाले दोस्रो पटक स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए ।

