प्रधानमन्त्री देउवालाई सरकारको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन बुझाउदै कार्यदल


काठमाडौँ – संयुक्त सरकारका साझा कार्यक्रम तय गर्न गठित कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार प्रतिवेदन बुझाउँदै छ । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गरेर प्रधानमन्त्री देउवालाई बुझाउन लागेको हो ।

प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा गठबन्धन दलका शीर्ष नेताहरु पनि सहभागी हुने र सोही प्रतिवेदन बुझाइने कार्यदलका सदस्य सचिव केशवप्रसाद जोशीले जानकारी दिएका छन् ।

नेपाली काँग्रेसका महामन्त्री खड्का संयोजक रहेको सात सदस्यीय कार्यदलले दुई साता लगाएर गठबन्धन सरकारले गर्नुपर्ने कामहरुको प्राथमिकीकरण गरेको कार्यदलका एक सदस्यले बताएका छन् । सरकार सञ्चालनमा सहयोग पुग्ने उद्देश्यले प्राथमिकता निर्धारण गरेको कार्यदलले जनाएको छ ।

कार्यदलमा काङ्ग्रेसबाट संयोजक खड्कासहित डा मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षामान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्र यादव र राजेन्द्र श्रेष्ठलगायत सहभागी छन् ।

प्रतिक्रिया