मेटमणि र रामकुमारीलाई किन यस्तो हतारो?


काठमाडौं– नेकपा एमालेभित्रको विवाद समाधानका लागि दोस्रो पुस्ताका नेताले कार्यदलमार्फत १० बुँदे सहमतिको प्रस्ताव तयार पारेका थिए। तर, अहिलेसम्म पनि उक्त प्रस्तावमा टेकेर एकताको प्रक्रिया सुरु पनि भएको छैन।

अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बैठक राखी त्यसलाई अनुमोदन त गराए तर माधवकुमार नेपाल पक्षका सर्तमाथि सर्त थपिन थालेका छन्। केही दिन अघिसम्म समान अधिकारको चर्चा उठाएको नेपाल समूहमा अब भने अध्यक्ष पदबाट ओलीको राजीनामालाई विकल्प बनाउन थालिएको छ।

नेता नेपालले आएका प्रस्तावका विषयमा सांसद र आफू पक्षीय केन्द्रीय सदस्यलाई जानकारी गराउँदै आएका थिए। यसक्रममा ओली पक्षको कुरा सुन्नै नहुनेमा जम्मा दुई जना नेपाल पक्षका सांसद बुरुक्क हुने गरेको स्रोतले जनाएको छ।

नेपाल पक्षका मेटमणि चौधरी र रामकुमारी झाँक्रीका कारणले पनि एकता प्रक्रिया अलिक लम्बिन लागेको एक नेताले बताए। ‘सहमति गरेर अगाडि बढ्न सकिने र महाधिवेशन चाँडो गर्न सकिने विषयमा हामी सल्लाह गरिरहेका छौं, भिम रावल जस्ता मानिसले सहमति गर्दा मेटमणि र रामकुमारीले मान्न हुन्न भनेर उचालिरहेका छन्’, ति नेता भन्छन्।

मेटमणि र रामकुमारीले किन यसो गरिरहेका छन् त? नेपाल पक्षका एक नेता भन्छन्,‘अहिले त उनीहरु जसरी पनि सरकारमा जानुपर्छ भनेर नेता नेपाललाई उचालिरहेका छन्।’

खासमा आगामी दिनमा राजनीतिक धरातल बलियो हुने अवस्था पनि नरहेको र अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा कम्तिमा १७ महिना मन्त्री खान पाइने भएपछि मेटमणि र रामकुमारीले नेता नेपाललाई दबाब दिएको बताइन्छ।

मन्त्री बन्ने धुनमा रामकुमारीले त प्रतिनिधि सभामा देउवालाई ओली सरकारले गरेका सबै नियुक्ति र कामहरु खारेज गर्नका लागि पनि अपिल गरेकी थिइन्।

‘हामी पार्टी जोगिए भोलीको राजनीतिलाई बलियो बनाउन सक्छौं भन्ने जोडबलमा छौं, मेटमणि र रामकुमारीलाई भोलीको भन्दा पनि अहिलेको अवस्थामा ओलीलाई स्वीकार गर्नै हुन्न, मौकामा मन्त्री खाइहाल्नुपर्छ भन्ने रहेछ’, एक नेता भन्छन्,‘पहिलो काम त एमाले बचाउने हो, मन्त्री खाँदै गरौंला नि।’

प्रतिक्रिया