यादव कोइरालालाई गृह मन्त्रालयको सचिव बनाउन कसले दिइरहेको छ दबाब?

खुमलटार पुग्ने ‘ब्युरोक्र्याट’लाई प्रचण्ड भन्छन्– ओलीका मान्छे सबै ‘डम्पिङ’मा राख्नुपर्छ


काठमाडौं– सरकार परिवर्तनसँगै कर्मचारीतन्त्रमा पनि नयाँ प्रकारको फेरबदलका काम सुरु भएका छन्। स्थायी सरकार मानिने ‘व्युरोक्रेसी’लाई अनुकूलताका आधारमा चलाउनका लागि सत्तारुढ पार्टी र गठबन्धन नेताको सिफारिस प्रधानमन्त्री देउवालाई परेको छ।

यति मात्र नभएर राष्ट्रपति विद्यादेवी भण्डारीले पनि चासो दिएको बताइएको छ। सरकारले सचिवहरुको सरुवा थालेसँगै चर्चामा रहेको गृह मन्त्रालयमा को पुग्लान् भन्ने चासोका साथ हेरिएको छ।

हाल गृह मन्त्रालयका सचिव रहेका महेश्वर न्यौपानेलाई सरुवा गराई आफूनिकटलाई राख्ने विभिन्न शक्ति केन्द्रको दबाब प्रधानमन्त्री देउवालाई परेको छ।

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि राष्ट्रपति भण्डारीसम्मले चासो गृह मन्त्रालयमा दिएका छन्। भण्डारीले यसअघिकै केपी शर्मा ओली सरकारको पालामा गृह मन्त्रालयमा हाल पर्यटनमा रहेका सचिव यादव कोइरालालाई जिम्मेवारी तोक्न दबाब दिएको स्रोतले बतायो।

अहिले पनि मुख्यसचिव शंकरदास बैरागीमार्फत गृहमा कोइरालालाई पठाउनका लागि शितलनिवासको दबाब रहेको बताइन्छ। स्रोतले भन्यो,‘यसअघि पनि कोइरालाको सिफारिस भएको थियो, अहिले पनि उक्त दबाब आइरहेको छ।’

कोइरालालाई गृह मन्त्रालयमा लैजानका लागि एमाले महासचिव ईश्वर पोखरेलको पनि लविङसहितको दबाब रहेको बताइएको छ।

प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाँणले कसलाई लैजान्छन् भन्ने यकिन भइनसकेको बेला प्रचण्डले पनि चासो देखाएका छन्। सरुवाको सिफारिस लिएर पुग्ने ‘ब्युरोक्र्याट्स’लाई प्रचण्डले तत्कालिन प्रधानमन्त्री ओलीनिकट रहेका सबैलाई ‘डम्पिङ’मा राखिने आश्वासन दिँदै आएको स्रोतको दाबी छ।

अघिल्लो साता मात्र मन्त्रिपरिषद बैठकले अर्थ र स्वास्थ्य सचिवसहित तीन जनाको सरुवा गरेको थियो।

अर्थ मन्त्रालयको सचिवमा मधु मरासिनी नियुक्त भएका थिए। उनलाई महालेखा नियन्त्रकबाट अर्थ मन्त्रालयको सचिवमा सरुवा गरिएको थियो। त्यस्तै अर्थसचिव शिशिर कुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयम सरुवा गरिएको थियो।

स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पठाइएको थियो। अर्याल १८ जेठ २०७७ देखि स्वास्थ्य मन्त्रालयमा कार्यरत थिए।

स्वास्थ्य मन्त्रालयमा केही दिन अघि मात्र स्वास्थ्य सेवा तर्फका डा. रोशन पोखरेल सचिवमा बढुवा भएका थिए। स्वास्थ्यमा दुई जना सचिव हुँदा विवाद आउने भन्दै सरकारले स्वास्थ्य सेवा तर्फका पोखरेललाई मात्र राख्ने निर्णय गरेको थियो।

यता, कोइराला भने विवादमा पनि तानिएका थिए। अघिल्लो बर्ष स्वास्थ्य मन्त्रालयको सचिव रहँदा सामग्री खरिद प्रकरणमा उनलाई सरुवा गरी अर्याललाई लगिएको थियो।

कोइराला ०७५ मा सचिवमा बढुवा भएका थिए। काठमाडौं महानगरपालिकाको कामु सचिव रहेका बेला उनको बढुवा गरिएको थियो।

प्रतिक्रिया