जसपा आधिकारिकता विवाद: सर्वोच्चद्वारा महन्थ ठाकुरको रिटमा कारण देखाउ आदेश जारी


काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

ठाकुरको रिट निवेदनको बुधबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले अन्तरिम आदेश जारी गर्न अस्विकार गरेको हो । विपक्षी उपेन्द्र यादव र निर्वाचन आयोगलाई भने सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ । निवेदक ठाकुरको मागअनुसार किन गर्नु नपर्ने हो त्यसको आधार र कारण खुलाइ बाटाका म्यादबाहेक १५ दिनभित्र जवाफ पेस गर्न आयोग र यादवलाई सर्वोच्चले भनेको छ ।

जसपाको विवादसम्बन्धी अन्य मुद्दा पनि सँगै राखेर पेस गर्न पनि इजलासले भनेको छ । साउन ११ गते आयोगले जसपाको आधिकारिकता यादवलाई दिएको थियो । केन्द्रीय कार्यकारिणी समितिको बहुमत सदस्यले यादवको पक्षमा सनाखत गरेपछि आयोगले उक्त निर्णय लिएको थियो । रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्नुरनगराउनु भनी अन्तरिम आदेश जारीको माग गर्दै ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए ।

आयोगको निर्णय कानुनी एवं संवैधानिक व्यवस्था प्रतिकूल हुने गरी भएको भन्दै ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए । आयोगको निर्णयले आफूलाई आघात पुगेको पनि उनले निवेदनमा लेखेका थिए ।

प्रतिक्रिया