

एमाले नेता झलनाथ खनालको मृगौला प्रत्यारोपण, केहीदिन पछि नेपाल फर्कने तयारी

दिल्ली – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता झलनाथ खनालको मृगौला प्रत्यारोपण सफल भएको छ । खनालको भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको खनालको निजी सचिवालयले जनाएको छ ।
खनालको मृगौला प्रत्यारोपण डा. अखिल मिश्रको नेतृत्वमा गरिएको जनाइँदै केही दिनको अस्पतालको बसाईपछि स्वास्थ्य अवस्था सामान्य भएपछि नेपाल फर्कने पनि जनाइएको छ ।
त्यसअघि खनालको मृगौलामा समस्या देखिएपछि गत असार २ गते नर्भिक अस्पतालबाटै नेपाल एयरलाइन्सको फ्लाइटबाट दिल्ली लगिएको थियो ।
गत जेठ २१ गते लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि उनी नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । त्यसपछि नर्भिकको विशेष वार्डमा राखेर उनको उपचार भइरहेको थियो ।
उनमा ज्वरो उल्लेख्य घट्न नसकेको र पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएपछि थप उपचारका लागि दिल्लीस्थित अपोलो अस्पतालमा लगिएको थियो ।

