

स्वास्थ्यमन्त्री बन्न चहान्छन् गगन थापा, देउवाको नजरमा को छन्?

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगन थापाले स्वास्थ्य मन्त्री बन्न चाहेको इच्छालाई अभिव्यक्त गरेका छन्। पत्रकारसँगको कुराकानीका क्रममा उनले बुधबार यस्तो इच्छालाई सतहमा ल्याएका हुन्।
अघिल्लो पटक कांग्रेस–माओवादी गठबन्धन सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुँदा थापा स्वास्थ्य मन्त्री थिए। कोभिडको यो जोखिम र स्वास्थ्यको काम गर्नुपर्ने बेलामा विभागीय मन्त्री नभएका बेला थापाको यो इच्छा सतहमा आएको हो।
तर प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्रीका रुपमा उमेश श्रेष्ठलाई नियुक्त गर्दा नै विवाद खेप्नु परेको थियो। उनले गठबन्धनमा रहेका अन्य दलका नेतालाई गल्ती भएको भनी माफी मागेका थिए।
तर यसबेला स्वास्थ्यमन्त्री अनिवार्य हुनुपर्ने जिकिर गरेका थापाले भनेका छन्,‘अहिलेको अवस्थामा विभागीय मन्त्री अनिवार्य हुनुपर्छ। प्रधानमन्त्री देउवाले विश्वास गरे म बन्न तयार छु।’
मन्त्रिपरिषद विस्तार नभएको अवस्थामा स्वास्थ्य मन्त्रालय कांग्रेसले पाउँछ या पाउँदैन भन्ने विषयको पनि चर्चा छ। गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र माधवकुमार नेपाल पक्षले पनि उक्त मन्त्रालयमा चासो देखाएको छ।
नेपाल पक्ष एमालेभित्र एकता टरेको खण्डमा मात्र सरकारमा आउने तयारीमा छ। यसबीच थापाको चाहनालाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्लान् कि नगर्लान् भन्ने पनि चासोका साथ हेरिएको छ।

