

महासमितिमा बबाल भएको र महाधिवेशनमा पेचिलो बन्ने कांग्रेसभित्र एउटा गहन मुद्दा

काठमाडौं– नेपाली कांग्रेस आसन्न १४ औं महाधिवेशनको तयारीमा छन्। तोकिएको मिति यताउता भए पनि महाधिवेशन निश्चितप्रायः छ। नेतृत्वका लागि विभिन्नको दाबी र घोषणा सार्वजनिक भएका छन् तर नेताहरुले बन्द सत्र र प्रतिनिधिमाझ आफ्ना एजेन्डा के हुन्छन् भन्नेचाहिँ खुलाइसकेका छैनन्।
यद्यपि कांग्रेस महाधिवेशनमा धेरै विषय उठ्नेछन्। खासगरी हालै सतहमा चर्चामा आएको जनमत संग्रह र धर्म निरपेक्षता खारेजीको सवालले कांग्रेसलाई घेर्नेछ। व्यवस्थामाथिको जनमत संग्रहको विषय पेचिलो नबने पनि कांग्रेसका लागि धर्म निरपेक्षताको सवाल महाधिवेशनमा फलामको च्युरा साबित हुने आँकलन गरिएको छ।
काठमाडौंमा केही बर्षअघि भएको महासमिति सदस्यहरुको बैठकका क्रममा नै हिन्दूत्वको विषय प्रस्तावका रुपमा तयार पारिएको थियो। सभापति शेरबहादुर देउवाले उक्त प्रस्तावलाई तत्कालका लागि छलफलमा लाँदा समस्या हुने बताउँदै महाधिवेशनको एजेन्डा बन्न सक्ने बताएका थिए।
सभापति देउवाको गृह जिल्ला डडेल्धुराका महासमिति सदस्यले नै उक्त विषय प्रस्ताव बन्नुपर्ने भन्दै बबाल गरेका थिए। यद्यपि, महासमिति बैठकले त्यस विषयमा कुनै निर्णय गरेको भन्नेचाहिँ सार्वजनिक भएको थिएन।
महाधिवेशनमा नेतृत्वका दाबी गरिरहेका प्रत्येक नेताका लागि अब हिन्दू राज्यको विषय अपनत्वमा लिएर मैदानमा उत्रिने कि नउत्रिने भन्ने विषयले असर गर्ने कतिपय बताउँछन्। महामन्त्री डा. शशांक कोइरालाले हिन्दू राष्ट्रको पक्षमा बोलेका थिए। कांग्रेसभित्र एउटा बलियो धारका रुपमा रहेका स्व. खुमबहादुर खड्काले यो मुद्दालाई पार्टीको अवधारणा र नेतृत्वको विषय पनि बनाएका थिए।
जसका कारण उनी पक्षधर रहेका हालका महामन्त्री पूर्णबहादुर खड्का, सचेतक पुष्पा भुसाल, सांसद शंकर भण्डारीलगायतले महाधिवेशनमा हिन्दूत्वको एजेन्डालाई बहसमा ल्याउने तयारी गरेका छन्।
‘अब कांग्रेसले मात्र नभई वैकल्पिक शक्ति भनिनेका जिम्मेवार व्यक्तिहरुले पनि यस विषयलाई सार्वजनिक बहसको विषय बनाएका छन्। सडकमा पनि हिन्दूत्वको विषयले चर्चा पाएको छ’, कांग्रेसका एक नेता भन्छन्,‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रामको जन्मभूमीसम्बन्धी राजनीतिले पनि कांग्रेसका लागि हिन्दूत्वको मुद्दा प्रभावकारी बन्ने देखिन्छ।’
अहिले नेतृत्वमा दाबी गरिरहेका बरिष्ठ नेता रामचन्द्र पौडेल, धर्म निरपेक्षताको वकालत गरेका विमलेन्द्र निधि र कृष्ण सिटौलालगायतका नेता पनि हिन्दूत्वको विषयलाई अपनत्वमा राखेर महाधिवेशनको मैदानमा उत्रिन लागेका छन्। यसकारण पनि कांग्रेसको १४ औं महाधिवेशनमा हिन्दूत्वको विषय एजेन्डा बन्ने र सबैका लागि पेचिलो मुद्दा बन्ने बताइन्छ।

