विभागबिहीन बनाइए एमाले महासचिव पोखरेल, आधिकारिक विभाग पनि पौडेलले खोसिदिए


काठमाडौं– नेकपा एमालेका महासचिव ईश्वर पोखरेल विभागविहीन भएका छन्। सोमबार एमालेका नौ वटा विभाग गठन हुँदा पोखरेललाई कुनैमा राखिएको छैन भने प्रमुखका रुपमा पनि जिम्मेवारीविहीन बनाइएको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदा स्कुल विभागको जिम्मा दिइएको उनलाई एमाले र माओवादी ब्युँतिएपछि विभागविहीन बनाइएको हो। पोखरेलको आधिकारिकचाहिँ संगठन विभाग हुन्छ। त्यसको प्रमुखको जिम्मेवारी भने उपमहासचिव विष्णु पौडेललाई दिइएको छ।

‘कम्युनिस्ट पार्टीमा संगठन विभाग प्रमुख स्वतः महासचिव हुने गर्दछन्। यसको अर्थ भनेको संगठन परिचालनदेखि सबैको जिम्मेवारी बहन गर्ने हुन्छ’, एमाले स्रोतले भन्यो,‘तर त्यो जिम्मेवारी पनि विष्णु पौडेलले खोसेका छन्।’

माधव नेपाल समूह एकता प्रक्रियामा आए जिम्मा दिने केही विभाग खाली राखिएको छ। तर, त्यस क्रममा पनि पोखरेलले जिम्मेवारी पाउने सम्भावना कम रहेको बताइन्छ।

‘माधव नेपालसँग सहमति भई एकता प्रक्रियामा आए बाँकी विभाग उनी पक्षका अन्य नेतालाई दिने तयारी भएको छ। त्यसबेला कुनै जिम्मा दिए अलग कुरा हो तर पोखरेलले पाउने सम्भावना कम देखिन्छ’, स्रोतले भन्यो।

पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीले महासचिव पोखरेललाई साधारण हिसाबले जिम्मेवारीबाट हटाउने गरेका थिए। खासगरी प्रधानमन्त्री रहँदा उपप्रधान र रक्षा मन्त्रालयको जिम्मेवारी पाएका पोखरेलबाट सुरुमा रक्षा मन्त्रालय खोसियो भने पछिल्लो पटक मन्त्री पद पनि खोसिएको थियो।

यो उपक्रमसँगै सत्ता बाहिर रहँदा पोखरेलबाट विभाग पनि खोसिएको छ।

प्रतिक्रिया