सत्तारूढ गठबन्धनको कार्यदल बैठक बालुवाटारमा जारी, न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी


काठमाडौँ – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धन कार्यदलको बैठक बसिरहेको छ । आजको बैठकबाट सरकारका न्यूनतम साझा कार्यक्रम, सरकार सञ्चालन कार्यविधि र आचारसंहिता बनाउने तयारी रहको छ ।

शेर बहादुर देउवा प्रधानमन्त्रीमा नियुक्ति भएको कबिर तीन हप्ता हुन लाग्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन । सत्ता गठबन्धनभित्र सहमति हुन नसक्दा सरकारले पूर्णता पाउन नसकेको कार्यदलका सदस्यहरुको भनाइ छ ।

कतिपय सत्तारुढ नेताहरूले भने कार्यदलले काम गर्न नपाएका कारण काममा ढिलाइ भइरहेको बताएका छन् । कार्यदलमा रहेका दलहरूले आफ्नै पार्टीभित्र सहमति हुन सकिरहेका छैनन् । जसका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकिरहेको छैन ।

आजको बैठकबाट न्यूनतम साझा कार्यक्रम तयार गरेर केही दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तथा सरकार सञ्चालनलाई पनि प्रभावकारी बनाउने गठबन्धनको तयारी छ ।

सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा ७६(५) अनुसार काँग्रेस सभापति शेरबहादुर देउवा असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए ।

बैठकमा कार्यदलका संयोजक पूर्णबहादुर खड्का, सदस्यहरु मिनेन्द्र रिजाल, रमेश लेखक, वर्षमान पुन, देवप्रसाद गुरुङ, महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सहभागी छन् ।

 

प्रतिक्रिया