कर्णाली नदीमा बेपत्ता जोशी दम्पती अझै भेटिएनन्, खोजीकार्य जारी


काठमाडौं – गत शुक्रवार गाडीसहित कर्णाली नदीमा खसेर बेपत्ता भएका डडेल्धुराका जोशी दम्पती अझै फेला परेका छैनन्। डडेल्धुराको भागेश्वर गाउँपालिकाको बगरकोट स्थायी घर भएका चन्द्र प्रसाद जोशी र उनकी पत्नी रुपी जोशी हालसम्म वेपत्ता छन्।

उनीहरूको खोजीमा गरिरहेको नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरीको गोताखोरहरूको टोलीले अहिले फेला नपारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।

‘क्षतविक्षत अवस्थामा गाडी भेटिएको छ। पानीको तीव्र बहाव र दुर्घटनास्थल अत्यन्त जोखिमपूर्ण स्थानमा रहेकोले जोशी दम्पतीको अवस्था पत्ता लगाउन कठिनाइ भइरहेको छ,’ प्रहरी उपरीक्षक अधिकारीले भने, गाडीभित्र पनि उनीहरू भेटिएनन्।’

गाडीमा सवार जोशी दम्पतीका दुई छोरी र एक छोरा गाडीबाट उछिट्टिएर भीरमा खसेको अवस्थामा भेटिएका थिए। गम्भीर अवस्थामा रहेका उनीहरूको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

‘बगेर गएको हुनसक्ने आशङ्का छ, खोजी कार्य जारी राखेका छौँ,’ एसपी अधिकारीले भने। जोशी विगत डेढ दशकदेखि डोटीको आदर्श गाउँपालिका बस्दै आएका थिए ।

उपचारका लागि सपरिवार कैलाली आएका उनीहरू घुम्नका लागि कैलालीको चिसापानी हुँदै कुईने गइरहेका थिए बाटोमा अवरोध देखेपछि फर्किन गाडी घुमाउँदै गर्दा कर्णालीमा खसेको थियो।

बा ११ च ९३८ नम्बरको जोशीको जीप चिसापानीदेखि सोल्टा जाने सडक खण्डमा दुर्घटना हुँदा कर्णाली नदीमा खसेर उनीहरु बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले भने, ‘दुर्घटनाग्रस्त जीप भने कर्णाली नदीमा टुक्राटुक्रा भएको अवस्थामा भेटिएको छ।’

‘सडकबाट झण्डै तीन सय मिटर तल नदीमा खसेको जीप टुक्राटुक्रा भएको छ। केही पार्ट निकालिएको छ। मुख्य पार्ट समेत निकालिएको छ,’ उनले भने। गाडीमा सवार जोशीकी १२ वर्षीया छोरी लक्ष्मी, ४ वर्षीया सावित्री र ३ वर्षीय भुवन जोशीको उद्दार गरिएको थियो।

प्रतिक्रिया