

गृहसचिवमा क–कसको नाम चर्चामा?

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेसँगै महत्वपूर्ण मन्त्रालयको सचिव हेरफेर गर्न थालेका छन्। १२ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार आज अर्थ र स्वास्थ्यसचिवसहित तीन जनाको सरुवा भएको छ।
अर्थमन्त्रालयको सचिवमा मधु मरासिनी नियुक्त भएका छन्। उनलाई महालेखा नियन्त्रकबाट अर्थ मन्त्रालयको सचिवमा सरुवा गरिएको हो। त्यस्तै अर्थसचिव शिशिर कुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयम सरुवा गरिएको छ।
त्यस्तै स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ। स्वास्थ्य मन्त्रालयमा प्रशासन तर्फका सचिव लक्ष्मण अर्याल हुन् । अर्याल १८ जेठ २०७७ देखि स्वास्थ्य मन्त्रालयमा कार्यरत थिए।
स्वास्थ्य मन्त्रालयमा केही दिन अघि मात्र स्वास्थ्य सेवा तर्फका डा. रोशन पोखरेल सचिवमा बढुवा भएका थिए। स्वास्थ्यमा दुई जना सचिव हुँदा विवाद आउने भन्दै सरकारले स्वास्थ्य सेवा तर्फका पोखरेललाई मात्र राख्ने निर्णय गरेको हो।
यसरी सचिवहरुको हेरफेर हुन थालेपछि महत्वपूर्ण मानिएको गृह मन्त्रालयको सचिव कसले बाजी मार्ला? विभिन्न अड्कलबाजी भइरहेको छ। जसरी पनि गृहसचिव परिवर्तन गर्नुपर्ने बाध्यतामा छन् सरकार।
हालका गृहसचिव महेश्वर न्यौपाने नेकपा एमालेका विश्वासपात्र हुन्। त्यसैले न्यौपानेलाई हटाएर नयाँ गृहसचिव ल्याउनुपर्ने बाध्यतामा छ सरकार।
कांग्रेसकै प्रभावशाली नेता बालकृष्ण खाँडले गृहमन्त्रालयको नेतृत्व सम्हालेका छन्। त्यसैले गृहसचिवका लागि आफू अनूकुलका सचिव ल्याउने तयारी गरिरहेका छन्। शिक्षा समूहका सचिव टेकनारायण पाण्डेको नाम पनि चर्चामा छ। पाण्डे केपी शर्मा ओली नेतृत्वको सरकारमा पेलिएका अधिकृत हुन्।
त्यसैले पाण्डेको प्रबल सम्भावना रहेको गृह मन्त्रालय स्रोत बताउँछ। पाण्डे अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा छन्। पाण्डेको प्रधानमन्त्री देउवा पत्नीसँग राम्रो सम्बन्ध रहेको स्रोतले बतायो।
त्यस्तै दिनेश भट्टराई, केदार न्यौपाने, अर्जुन पोखरेल, रामकृष्ण सुवेदी, गोकर्णमणी दवाडी, मधुसुदन बुर्लाकोटी, कृष्णहरि पुस्कर लगायतको नाम पनि चर्चामा छ। सुनसरीका भट्टराई गृहसचिवका लागि सबैभन्दा उपयुक्त पात्र रहेको देउवा क्याम्पमा चर्चा छ।
शेरबहादुर देउवा निकट प्रभावशाली नेताहरु मीन विश्वकर्मा, ज्ञानेन्द्रबहादुर कार्की, विजयकुमार गच्छदारलगायतका रहेको सुनसरीका भट्टराईलाई गृहमा ल्याउन चर्को दबाब रहे पनि गृहमन्त्री खाँड भट्टराईलाई भन्दा पाण्डेलाई नै सचिव बनाउने तयारीमा छन्।
केही दिनअघि मात्र देउवा नेतृत्वको सरकारले सहसचिवहरुको समेत हेरफेर गरिसकेको छ। प्रशासन महाशाखा प्रमुखमा सहसचिव गोविन्द रिजालको सरुवा भएको छ।

