टोकियो ओलम्पिक: अमेरिकी पौडी खेलाडी सेलेब ड्रेसलले जिते चौथो स्वर्ण


टोकियो – टोकियो ओलम्पिकमा अमेरिकन पौडी खेलाडी सेलेब ड्रेसलले चौथो स्वर्ण जितेका छन् । उनले ५० मिटर फ्रिस्टाइलमा कीर्तिमानसहित स्वर्ण जितेका हुन् । आज बिहान भएको प्रतिस्पर्धामा ड्रेसलले २१ सेकेण्ड ०७ मिलिसेकेण्डमा दूरी पूरा गरी स्वर्ण पदक हात पारेका हुन् ।

सेलेबले ब्राजिलका सेलार सेएलोको नाममा रहेको २१ सेकेण्ड ३० मिलिसेकेण्डको ओलम्पिक कीर्तिमान तोडेका छन् । फ्रान्सका फ्लोरेन्ट मानाउडोले २१ सेकेण्ड ५५ मिलिसेकेण्डसहित रजत र ब्राजिलका ब्ररुनो फ्रातुसले २१ सेकेण्ड ५७ मिलिसेकेण्डसहित कास्य जितेका छन् ।

उनले व्यक्तिगत स्पर्धामा तीन र समूह स्पर्धामा एक गरी चार स्वर्ण पदक जितेका हुन् । ड्रेसलले यसअघि चार गुणा सय मिटर फ्रि स्टाइल, सय मिटर फ्रि स्टाइल र सय मिटर बटर फ्लाइमा स्वर्ण जितिसकेका छन् । सय मिटर फ्रि स्टाइलमा उनले ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेका हुन् भने बटरफ्लाइमा नयाँ विश्व कीर्तिमान बनाएका छन् ।

प्रतिक्रिया