

सम्पर्कविहीन सांसद वलीले पठाईन् माओवादी केन्द्रलाई खबर

बुटवल – शुक्रबार बिहान देखि सम्पर्कविहीन रहेकी लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफू उपचारका क्रममा रहेको बताएकी छन् ।
उनले परिवारमार्फत् नेकपा माओवादी केन्द्रलाई आफ्नो घाँटीमा समस्या देखिएकाले नेपालगंजमा उपचाररत रहेको जानकारी परिवारका सदस्यहरुमार्फत् पठाएकी हुन्।
सांसद विमलाले बिरामी भएको जानकारी पठाएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती मगरले नेपालसमयलाई बताए।
‘विमलाजीसँग हाम्रो कुराकानी भएको छैन, तर परिवारले उपचारमा रहेको र साँझसम्म पार्टीको सम्पर्कमा आउने जानकारी गराएको छ’ प्रमुख सचेतक घर्तीले भने। शुक्रबार रातिदेखि पार्टीको सम्पर्कमा नआउँदा थुप्रै आशंका उब्जिएको थियो ।
लुम्बिनी प्रदेशमा मन्त्री रहेका ३ सांसदलाई जनता समाजवादी पार्टीको उप्रेन्द्र यादव पक्षले पदमुक्त गरेपछि सत्तासिन दल एमाले अल्पमतमा परेको छ। सांसद विमला अचानक माओवादी केन्द्रका नेताहरुसँग सम्पर्कविहीन भएपछि यसले लुम्बिनीको राजनीतिलाई तरंगित बनाइदिएको छ। बुटवलस्थित नयाँगाउँबाट गायब भएकाले सत्ता चलेखेलले राजनीतिक रुपमा अपहरण भएको हुनसक्ने माओवादीको आशंका छ। तत्कालीन नेकपाबाट दाङ ३(ख) बाट उपनिर्वाचनमा विजयी भएकी वलीले सर्वोच्चको फैसलापछि नेकपा माओवादी केन्द्र रोजेकी थिइन्।
परिवारका सदस्यहरुले उपचारमा रहेको बताए पनि स्वास्थ्यमा समस्या देखिएकोबारे जानकारी नभएको दाङकै सांसद दामाकुमारी शर्माले बताइन्। उनले आफूसँग सम्पर्क नभएको बताउँदै अहिले नै पार्टीको सम्पर्कमा आएको भन्न नसक्ने बताइन्।
नेकपा एमालेले भने पहिलेदेखि नै एमालेकै सांसद भएकाले पार्टीको सम्पर्कमा रहेको बताएको छ। माओवादी केन्द्रले भने वलीलाई कुनै ट्र्यापमा पारेर एमालेले कब्जा गरेको हुनसक्ने आरोप लगाएका छन्।

