ओलीलाई चेतावनी दिँदै देउवालाई नेपालको सुभाव- नेताहरुको बानी बिग्रिएको छ, त्यो तपाईंबाट नदोहोरियोस्


काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई संकेत गर्दै फेरि प्रधानमन्त्री बन्नका लागि जालझेल नगर्न चेतावनी दिएका छन् ।

अखिल फोर्सले शनिबार आयोजना भेलालाई सम्बोधन गर्दै नेता नेपालले फेरि पनि प्रधानमन्त्री बन्छु कि भन्ठानेर जालझेल नगर्न ओलीलाई चेतावनी दिएका हुन् ।

उनले भने भने, ‘फेरि फर्केर प्रधानमन्त्री बन्छु कि ठानेर जालझेल कसैले नगरोस् । जे गर्नुछ पारदर्शी रूपमा गरोस् ।’ सोही क्रममा नेता नेपालले आफू विचारमा अडिग योद्धा रहेको र कार्यकर्तालाई पनि त्यस्तै बन्न सुझाव दिँदै नेपालले आफूहरू मैदान छोडेर नभाग्ने बताए । ‘तर्सेर भाग्ने, मैदान छोडेर भाग्ने कुरा आउँदैन । हामी विचारमा अडिग योद्धा हौं,’ उनले थपे, ‘हामी अरूको कुरा, आलोचना पनि सुन्छौं । सही छ भने ग्रहण गर्छौं गलत छ भनेर विनम्र भएर विरोध गर्छौं ।’

ओलीले दोस्रोपल्ट गरेको प्रतिनिधिसभा विघटनलाई असार २८ गते सर्वोच्च अदालतले बदर गरिदिएको फैसलाप्रति आफ्नो सम्मान रहेको नेपालको भनाइ थियो । उनले प्रतिनिधिसभा जोगाउन, सांसद पद जोगाउन, विधि जोगाउनका लागि आफूहरूले वर्तमान सरकारलाई विश्वासको मत दिएको बताए । अहिलेको सरकारले जनताको पक्षमा राम्रो काम गर्न पनि सुझाव उनले दिए ।

निरंकुश र स्वेच्छाचारी प्रवृत्तिको विरोध गर्दै मनपरी, बेलगाम, अराजक भएर नेतृत्व नचलोस् भनेर होसियार बनाउन कार्यकर्ताले भूमिका खेल्नुपर्ने नेपालले बताए । ‘म नै सर्वेसर्वा भन्ने भावनालाई अस्वीकार गर्ने हो । सबै खालका अराजक प्रवृत्तिलाई अन्त्य गर्ने हो,’ उनले भने ।

सम्वोधनकै क्रममा वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई जनतालाई दिएको वचन पूरा गर्न सुझाव दिएका छन् । उनले कोभिड–१९ विरुद्धको खोप छिटो उपलब्ध गराउन आग्रह गरे । ‘घोषणा गर्नु भएको छ, ठिक छ । घोषणा गरेर मात्रै आनन्दित नबन्नुस् । नेताहरुको बानी बिग्रिएको छ । ठूल्ठूला कुरा गर्ने, काम नगर्ने । वचन धेरै दिने, पूरा नगर्ने । त्यो तपाईंबाट नदोहोरियोस्’, उनले भने ।

यसैगरी वरिष्ठ नेता नेपालले दार्चुलामा नेपाली युवा चढेको तुइन काट्ने भारतीय सीमा सुरक्षा बलका जवानमाथि कारबाही हुनुपर्ने बताएका छन् । उनले नेपाल र नेपालीको अहितमा कसैले काम गर्न नहुने पनि बताए ।

‘महाकाली नदीमा हामीले जुन घटना सुन्यौं । त्यहाँ जुन किसिमको अमानवीयता देखाइयो । त्यसको छानबिन गरियोस्’, उनले भने, ‘बदमासी या लापरबाही जे भए पनि नेपाली युवा बाढीमा बेपत्ता भएको घटनामा संलग्नलाई दण्डित गरिनु पर्छ ।’

 

प्रतिक्रिया