

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन् । आज दिउँसो ललितपुरस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बोलाएको एक नेताले जानकारी दिए ।
आजको बैठकमा केन्द्रीय विभागहरूको पूर्णता दिने, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणको विषय मुख्य एजेण्डा रहेको छ ।
पार्टी एकताको लागि एमालेका दोस्रो तहका नेताहरूको प्रयास जारी रहेकै बेला महासचिव ईश्वर पोखरेलले अब धेरै दिन पर्खिन नसकिने र निर्णय गरेर जाने बताएका थिए ।
नेता नेपाल पार्टी एकताको पक्षमा नदेखिएको भन्दै ओली समूहले अब धेरै दिन नपर्खिने सङ्केत देखाएको छ । नेता नेपालसँग दोस्रो तहका नेताहरूको भेटवार्ता भने जारी नै छ ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको असमझदारीका कारण एमाले विभाजनको विन्दुमा पुगेको देखिएको छ ।

