

स्वास्थ्यमन्त्रीमा गगन थापा कि ज्ञानेन्द्र कार्की, कसको सम्भावना बलियो?

काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यभार सम्हालेको दुई हप्ता बित्दासम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्। नेकपा एमालेको माधवकुमार नेपाल समूहको अनिर्णयले सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय बाँडफाँट हुन नसकेर मन्त्रिपरिषद्ले पूर्णता नपाएको हो।
कोरोना भाइरस संक्रमणको महामारीको तेस्रो लहर आउने चर्चाको बीच महत्वपूर्ण मानिएको स्वास्थ्य मन्त्रालयको जिम्मा कसले पाउँछन्? सर्वत्र चासोको विषय बनेको छ। यसैबीच देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरिसकेका छन् भने अब मन्त्रीमा कसलाई नियुक्त गर्लान्? सम्भवतः आज थाहा हुनेछ।
बालुवाटार स्रोतका अनुसार महामारीका बेला सरकारको कामको मूल्यांकन हुने भएकाले देउवाले स्वास्थ्य मन्त्रालय आफ्नै दल र समूहभित्र राख्ने मनस्थिति बनाएका छन्। देउवाले गृहमन्त्रीमा आफ्ना विश्वासपात्र बालकृष्ण खाँणलाई जिम्मेवारी दिइसकेका छन् भने स्वास्थ्य मन्त्रालयमा पनि यस्तै विश्वसनीय पात्रको खोजी भइरहेको छ ।
महामारीका बेला स्वास्थ्यमन्त्री फरक दल र फरक गुटलाई दिँदा सरकारकै बदनाम हुने काम हुनसक्ने र सरकार नै असफल हुने भएकाले देउवाले आफ्ना अत्यन्तै विश्वासिला पात्रलाई स्वास्थ्यमन्त्री बनाउन लागेका छन्।
यसअघि कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला गुटबाट उमाकान्त चौधरी स्वास्थ्यमन्त्री बन्ने चर्चा भएपनि उनलाई अरु नै मन्त्रालयको जिम्मेवारी दिने स्रोतले जनाएको छ। त्यस्तै नेता गगन थापाको नाम समेत चर्चामा छ।
स्वास्थ्यमन्त्रीमा थापाको नाम समेत अगाडि आएपनि उनलाई सिटौला गुटले मन्त्रीमा सिफारिस नगरेपछि थापाको सरकारमा ‘इन्ट्री’ नै हुन सक्ने बताइएको छ। यसअघि थापाले स्वास्थ्य मन्त्रालयको कमाण्ड सम्हालिसकेका छन्। त्यसैले पनि कांग्रेस नेताहरुले स्वास्थ्यमन्त्रीमा थापालाई दोहोर्याउन सुझाव दिएका छन्।
कोरोना महामारीको समयमा अघिल्लो सरकारको भन्दा देखिने गरी काम गर्नुपर्ने चुनौती र यसअघि स्वास्थ्यमन्त्री भइसकेकाले बुझाइ पनि स्पष्टता रहेको भन्दै कांग्रेस नेताहरुले थापालाई स्वास्थ्यमन्त्री बनाउँदा उपयुक्त हुने सुझाव दिएका थिए। यद्यपि यो सुझावमा देउवाले केही प्रतिक्रिया दिएका छैनन्।
यता, देउवाले विश्वासिलो पात्र खोजिरहेको बेला सरकारमा पहिलो चरणमै सहभागी भएका कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने चर्चा कांग्रेसभित्रै सुरु भएको छ। कार्कीलाई स्वास्थ्यमा ल्याउने र कानूनमन्त्रीमा पुष्पा भुसाललाई पठाउन तयारी रहेको स्रोतले जनाएको छ।
तर, यसबारे देउवाले अझै सोचविचार गर्ने र सुझाव सल्लाह समेत बुझेर निर्णय लिने जनाइएको छ। गठित कार्यदलको सिफारिसको आधारमा प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयमा आफ्नो विश्वासिलो पात्रलाई नियुक्त गर्ने सम्भावना रहेको छ।
देउवा प्रधानमन्त्री भएको दुई साता बितिसक्दा मन्त्रिपरिषद् ६ सदस्यीय मात्रै छ।

