रावलको अडानमा हुँदैछ एमाले एकता, शनिबारसम्म मिलाउन ओलीले जसलाई दिए निर्देशन

‘अन्य पार्टीको आन्तरिक मामलामा हस्तक्षेप गर्ने अलोकतान्त्रिक चरित्र’


काठमाडौं– उपाध्यक्ष भिम रावलको पहलमा एमाले एकता हुने भएको छ। नेता माधवकुमार नेपाल पक्षलाई लचिलो भएर कार्यदलको सुझावअनुसार अध्यक्ष केपी शर्मा ओलीसँग मत मिलाउन रावलले प्रस्ताव गरेपछि लगभग एकताको वातावरण बनेको बताइन्छ।

उपाध्यक्ष रावलले एमाले मिल्नुको विकल्प नरहेको भन्दै विभाजन नहुने दाबी गरेका छन्। उनले भनेका छन्,‘एमाले विधिअनुसार चल्ने पार्टी भएकाले कमिटीका निर्णयमा नेताहरु मिल्नुपर्छ, यसमा माधव नेपाल पनि आउनुपर्छ, अध्यक्षले पनि सहमति गर्नुपर्छ।’

एमालेभित्रको समस्या पार्टी बैठकले नै समाधान गर्ने बताएका रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति संकेत गर्दै अन्यको आन्तरिक मामलामा दखल दिन नहुने एउटा अन्तरवार्ताका क्रममा बताएका छन्। ‘हामीले अरुको पार्टीभित्रको आन्तरिक मतभेद र विवादका विषयमा बोलेका छैनौं, त्यो लोकतान्त्रिक पद्दती पनि होइन’, उनले भनेको विवरण सतहमा आएको छ।

यता, बुधबार मात्र पार्टीको मुख्यालय थापाथलीमा पुगेका अध्यक्ष केपी शर्मा ओलीले एकतालाई शनिबारसम्म पूरा गर्नुपर्ने बताएका छन्। उनले उक्त प्रक्रिया पूरा गरी शनिबार विहान स्थायी कमिटीको बैठक डाक्नका लागि महासचिव ईश्वर पोखरेललाई जिम्मेवारी दिएका छन्।

स्रोतका अनुसार एकीकरणका लागि, एकताको विन्दूबारे छलफल गर्न महासचिव पोखरेल सक्रिय भएका छन्। अध्यक्ष ओलीको निर्देशनअनुसार नै पोखरेलले एकताको सन्देश दिनेगरी स्थायी कमिटीको बैठक बोलाउने तयारी गरेको बताइन्छ।

प्रतिक्रिया