जसपा विवादमा तटस्थ बसेका रेशम चौधरीलाई उपेन्द्र यादवले पार्टीबाट किन निकाले?


काठमाडौं– निर्वाचन आयोगमा जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता सनाखतका क्रममा विपक्षमा उभिएका सबैलाई उपेन्द्र यादव पक्षले कारबाही गरेको छ। यसमा महन्थ ठाकुरदेखि सबै परेका छन्।

तर मधेसको एजेन्डाका रुपमा राजनीतिक बार्गेनिङ बनिरहेका टिकापुर घटनाका दोषी ठहरिएका प्रतिनिधि सभा सदस्य रेशम चौधरी भने तटस्थ बसेका थिए। यादव पक्षले उनलाई पनि कारबाही गरेको छ।

यद्यपि यादव पक्षको कारबाहीविरुद्ध ठाकुर पक्ष सर्वोच्च अदालतमा जाने तयारीमा छ। तर मधेस आन्दोलनको एउटा अंग मानिएको टिकापुर घटनाका दोषी चौधरीलाईचाहिँ किन निकालियो?

यादव पक्षका एक केन्द्रीय सदस्यका अनुसार तटस्थ बसी चौधरीले पनि प्रतिगमनको सहयोगीको साथ दिएका कारण कारबाही गरिएको हो। चौधरीको रिहाई मधेस मामिलामा खासै ठूलो मुद्दा नभएको तर रिहाईका लागि अपिल गर्न सकिने भए पनि पार्टीको आधिकारिकताका विषयमा उनको तटस्थता ठाकुरतिरको झुकाव भएको ति नेताको ठहर छ।

ठाकुर पक्षले भने चौधरीसहितलाई कारबाही गरी यादवले मधेस आन्दोलन र त्यसले स्थापित नेताको अपमान गरेको ठहर गरेको छ। अब यादवसँग मधेस आन्दोलनको लिगेसी नरहेको, सत्तामा जानका लागि हतार गरेको ठाकुर पक्षको ठम्याई छ।

‘उपेन्द्र यादव हिजो पनि ओली सरकारमा उपप्रधानमन्त्री भएका हुन्। हामी सरकारमा गएनौं। तिनै ओलीको कार्यकालमा एक बर्षअघि पार्टी विभाजन हुने भएपछि हामीले उपेन्द्रलाई त्राण दिएर पार्टी एकता गरेका थियौं’, स्रोतले भन्यो,‘अहिले सत्तामा जानका लागि नै हामीलाई कारबाहीको नाटक मञ्चन भएको छ, यो मधेसमाथिकै अपराध हो।’

टिकापुर घटना मधेस आन्दोलनको एउटा अविश्मरणीय क्षण रहेको र त्यसका दोषीका रुपमा उभ्याइएका रेशम चौधरीलाई समेत निकालेर यादव पक्ष केन्द्रीयतावादी सोचका नेताको पिछलग्गु भएको प्रमाणित गरेको ठाकुर पक्षको बुझाई छ।

प्रतिक्रिया