

अवैध उत्खनन रोक्न कालीगण्डकी नदी आसपासमा २४ सै घण्टा प्रहरी तैनाथ

पर्वत – नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न जिल्ला प्रहरी कार्यालय पर्वतले कालीगण्डकी नदी आसपासमा प्रहरी तैनाथ गरेको छ।
पर्वतमा कालीगण्डकी दोहनको विषय गम्भीर समस्याका रूपमा रहेको त्यो गैरकानुनी कार्य भएकाले अवैध उत्खननमा प्रयोग भएका सामग्रीहरू नियन्त्रणमा लिनुका साथै २४ सै घण्टा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बताए।
कालीगण्डकी नदीबाट बालुवा तथा डुङ्गाको अवैध उत्खनन भइरहेको गुनासो त्यस क्षेत्रका बासिन्दाले गरेपछि प्रहरीले सक्रियता बढाएको उनको भनाइ छ। नदी उत्खननबारे अधिकांश अधिकारहरू स्थानीय सरकारलाई दिइएकाले त्यसको सदुपयोग र दुरुपयोगको मुख्य जिम्मेवारी पनि स्थानीय तहकै भएको डिएसपी बुढाथोकीको भनाइ छ।
स्थानीय तहले गरिरहेका कामहरूको नियमन गर्ने अधिकार जिल्ला समन्वय समितिमा रहेकाले यसमा मुख्य ध्यान दिने कर्तव्य समन्वय समितिको हुने र सुरक्षा आवश्यक भएको महसुस भएमा प्रहरीले साथ दिने उनले बताए। उत्खनन गरेकै अवस्थामा केही टिपर, ट्र्याक्टर र एक्स्काभेटेर नियन्त्रणमा लिई जरिवानाका लागि यस अघि जिल्ला समन्वय समिति र नियम परिवर्तन भएपछि स्थानीय तहमा पठाइएको पर्वत प्रहरीले जनाएको छ ।

