

उपेन्द्र यादवको पक्षमा ३४ जनाको सनाखत

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको सनाखत सुरु भएको छ। अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षमा रहेका कार्यकारिणी समिति सदस्यहरुको निर्वाचन आयोगमा सनाखत सुरु भएको हो।
अध्यक्ष यादवसहितका सदस्यहरु पुगेर सनाखत गरिसकेका छन् भने केही पुग्दैछन्। सनाखत गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष यादवले ५१ कार्यकारिणी सदस्यमध्ये ३४ जनाले आफ्नो पक्षमा हस्ताक्षर गरिसकेका बताएका छन्।
उनले पार्टी विभाजन नभएको तर केही साथीहरु बाटो बिराएर अन्यत्र गएको बताउँदै सार्वजनिक आलोचनासहित पार्टीमा आए स्वीकार गर्न सकिने बताए। विगतका गलत प्रवृत्तिलाई सच्याउँदै ठाकुर आत्मालोचना गर्न तयार भए उनलाई फेरि पार्टीमा समेट्न सकिने उनको भनाइ थियो।
ठाकुर पक्षमा रहेका मनिष सुमन, उमाशंकर अरगरिया लगायतका नेताहरु पनि निर्वाचन आयोग परिसरमा पुगिसकेका छन्। ठाकुर पक्षमा रहेका सुमनले यादव पक्षमा सनाखत गरेका छन्। दुवै पक्षको सनाखत सकिएपछि निर्वाचन आयोगको इजलासमा सनाखत पेश गरिनेछ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपाका कार्यकारिणी समिति सदस्यहरुको ‘हेड काउन्ट’ सुरु भएको जानकारी दिँदै सनाखत सकिएपछि इजलासमा पेश हुने बताए। जसपाको आधिकारिकता सम्बन्धी निर्णय आजै आउन पनि सक्ने उनले बताए।
यता उपेन्द्र यादव पक्षका नेता मोहम्मद इस्तियाक राईले ३५ जना ३५ जना सनाखत भएको जानकारी दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्, ‘निर्वाचन आयोगमा निवेदक (उपेन्द्र यादव) तर्फ सनाखत गर्न आज ३३ र २ जोड्दा ३५ पुग्नेछ।’
सनाखत सुरु हुनु्अघि ठाकुर समूहले हेड काउन्ट रोक्न आयोगमा निवेदन दिएका थिए। हेड काउन्टविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतमा विचाराधीन रहेको र साउन १५ गते अन्तरिम आदेश दिने नदिने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाएको भन्दै ठाकुर समूहले आयोगमा निवेदन दिएको थियो। तर आयोगले अन्तरिम आदेश नभएको भन्दै खनाखत रोक्न अस्वीकार गरेको छ ।

