श्रेष्ठलाई राज्यमन्त्री बनाएर प्रधानमन्त्री देउवाले ‘प्रचण्डको प्रयत्न’लाई यसरी दिए झड्का


काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनलाई चालै नदिई स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्तसँगै शपथ गराएपछि नयाँ बहस सुरु भएको छ।

सरकार सञ्चालनका लागि सत्तारुढ गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका दुई–दुई जनाको कार्यदल बनाइएको थियो। स्वास्थ्य राज्यमन्त्री नियुक्तिमा कार्यदललाई पनि केही जानकारी दिइएन, परामर्श लिनु त परै जाओस्।

सरकारका काम कारबाहीबारे जानकारी लिन र मन्त्री नियुक्तिमा सहमति गर्नका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सक्रियतामा कार्यदल गठन भएको थियो। प्रचण्डले सरकारमाथि गठबन्धनको राजनीतिक संयन्त्र गठनलाई पनि जोड दिँदै आएका थिए।

तर राज्यमन्त्री श्रेष्ठ नियुक्तिका विषयमा प्रचण्डलगायत गठबन्धनका प्रमुख नेतालाई पनि देउवाले जानकारी दिएनन्। बरु, मन्त्री नियुक्तिको अघिल्लो दिन बसेको बैठकमा प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्री नियुक्तिका लागि जनता समाजवादी पार्टीसँग एक जना नेताको नाम माग गरेका थिए।

प्रचण्डलाई झड्का, किन भयो देउवाको आलोचना?

सत्तालाई आफू केन्द्रित निर्णय गराउने प्रचण्डका विविध अभ्यासलाई पाखा लगाउँदै देउवाको यो निर्णयले झड्का दिएको छ। कार्यदलमा रहेका नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले नै थाहा नभएको प्रतिक्रिया दिएका छन्। उनले यसरी कार्यदलमा थाहा नभए औचित्य पनि नभएको बताइसकेका छन्।

यो प्रकरणमा देउवा आलोचित हुनुको मुख्य कारण गण्डकी प्रदेशमा मन्त्री नियुक्तिको चर्चा पनि थियो। दलित समुदायका डोबाटे विश्वकर्माको नाम काटेर जग्गा व्यवसायी बिन्दुकुमार थापालाई मन्त्री बनाउन दबाब दिएको सन्दर्भले पनि देउवा आलोचित भएका हुन्।

देउवानिकट नेताहरू भने स्वास्थ्य मन्त्रालयमा तानातान भएपछि देउवाले तत्काल राज्यमन्त्रीबाट काम चलाउन श्रेष्ठलाई नियुक्त गरेको दाबी गरेका छन्।

देउवाले भने महामन्त्री डा. शशांक कोइरालालाई स्वास्थ्यमन्त्री बन्न प्रस्ताव गरेका थिए। तर कोइराला त्यसमा सहमत भएनन्।

प्रतिक्रिया