पदाधिकारी निर्णयमाथि कांग्रेस जिल्ला सभापतिहरूको विद्रोही स्वर, यस्तो छ असहमतिको कारण


काठमाडौं– नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पदाधिकारी बैठकले गरेका निर्णय तथा सरकारमा भएका कतिपय नियुक्तिविरुद्ध विद्रोही आवाज उठाएका छन्।

आसन्न १४ औं महाधिवेशनका सन्दर्भमा पदाधिकारीले १२ साउनका लागि तोकिएको वडा अधिवेशन स्थागित गरी क्रियाशील सदस्यताको विषयलाई कारण बनाउनु गलत रहेको उल्लेख गरेका छन्।

उपत्यकामा रहेका जिल्ला सभापति र महासमिति सदस्यहरुले महाधिवेशनको सुनिश्चितता हुनुपर्ने जिकिर गरेका छन्। विज्ञप्ति जारी गरी उनीहरुले यसो भनेका हुन्।

जिल्ला कार्यसमिति र स्थानीय तहसम्मका तल्ला समितिको भूमिकालाई पदाधिकारीले कमजोर बनाएको उनीहरुको आरोप छ। महासमिति बैठकले गरेका निर्णयविरुद्ध पदाधिकारीले मनोपोली गरेको पनि आरोप लगाइएको छ।

पार्टीमा लामो समय काम गरेका नेता एवं सदस्यहरुको अपमान गरेको, अराजनीतिक आधार एवं स्वार्थको जगमा राजनीतिक अवसर र भूमिका प्रदान गरिएका घटनाले देशभरीका पार्टी नेता तथा कार्यकर्ताको मन कुँडिएको उनीहरुको आरोप छ।

उनीहरुले क्रियाशील सदस्यको सूची चाँडो जारी गर्न माग गरेका छन्। महाधिवेशन सार्नका लागि पदाधिकारीले प्रपञ्च गरिरहेको आशंका पनि गरिएको छ।

कांग्रेसले १६५ निर्वाचन क्षेत्रसहित २१० ठाउँबाट सफ्टवेयरमा क्रियाशीलको विवरण तयार पारेको थियो। महाधिवेशनका लागि कांग्रेसका करिब नौ लाख क्रियाशील सदस्य तयार पारिएको छ।

प्रतिक्रिया