भारतमा दैनिक संक्रमण दर २.३१ प्रतिशत, चार करोड ३३ लाखभन्दा बढीलाई खोप


नयाँ दिल्ली – भारतमा विगत २४ घण्टामा कोभिड-१९ बाट संक्रमितको थप सङ्ख्या ३९ हजार ७४२ रहेको सङ्घीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी गराएको छ । यो अवधिमा कोभिड-१९ सङ्क्रमित ५३५ व्यक्तिको मृत्यु भएको पुष्टि गरिएको छ ।

भारतमा आइतबारसम्ममा सक्रिय सङ्क्रमितको सङ्ख्या चार लाख आठ हजार २१२ रहेको छ भने अहिलेसम्म कोभिड-१९ सङ्क्रमण भई निको हुनेको सङ्ख्या तीन करोड पाँच लाख ४३ हजार १३८ पुगेको छ । अहिलेसम्म कोभिड-१९ सङ्क्रमित चार लाख २० हजार ५५१ व्यक्तिको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार भारतमा अहिले कोभिड सङ्क्रमणपछि निको हुनेको दर ९७.३६ रहेको छ भने शनिवार ३९ हजार ९७२ कोभिड-१९ सङ्क्रमित व्यक्ति निको भएको तथ्याङ्क सरकारको छ । खोप अभियान र नियन्त्रणका लागि लकडाउन तथा अन्य उपाय अवलम्बन गरेका कारण लगातार ३४ दिनसम्म सङ्क्रमण दर तीन प्रतिशतभन्दा कम रहेको छ भने अघिल्लो दिन यो दर २.३१ प्रतिशत कायम भएको छ ।

सरकारी अधिकारीका अनुसार भारतमा जारी राष्ट्रिय खोप अभियान अन्तर्गत अहिलेसम्म ४३ करोड ३१ लाख मात्रा खोप लगाइएको छ भने ४५ करोड ६२ लाख व्यक्तिको कोभिड-१९ परीक्षण गरिएको छ ।

प्रतिक्रिया