

बढीभन्दा बढी जनतामा स्वास्थ्य सेवा पुग्नेगरी काम गर्नेछु : नव नियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

काठमाडौं – नव नियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार सिंहदरबारमा शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उपराष्ट्रपति नन्दबहादुर पुन, मन्त्रीहरु समेतको उपस्थितिमा प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्री श्रेष्ठलाई शपथ गराएका हुन् ।
शपथ लिईसकेपछि राज्यमन्त्री श्रेष्ठले आफ्नो पहिलो प्राथमिक कोरोनाविरुद्धको खोप हुने बताएका छन् । उनले अहिलेको आवश्यकता खोप भएको र आफू बढीभन्दा बढी जनतामा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले काम गर्ने बताए ।
‘अहिलेको सबैभन्दा मुख्य आवश्यकता खोप हो । खोप व्यवस्थापन मेरो प्राथमिकतामा पर्नेछ । बढीभन्दा बढी जनतामा स्वास्थ्य सेवा पुग्नेगरी काम गर्नेछु’, उनले भने ।
उनले आफूसँग शिक्षासँगै स्वास्थ्य र खेल क्षेत्रको लामो अनुभव रहेको दावी गरे । ‘मैले लामो समय शिक्षा, स्वास्थ्य र खेलकुद समितिमा बसेर काम गरेको छु । मलाई स्वास्थ्यको इञ्च-इञ्च समस्याका बारेमा थाहा छ । नेपालको स्वास्थ्य सेवालाई कसरी गुणस्तरीय बनाउन सकिन्छ भन्ने विषयलाई म एकदमै प्राथमिकता दिएर काम गर्नेछु’, उनले भने ।

