

काँग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने तयारी

काठमाडौँ – नेपाली काँग्रेसको पदाधिकारी र पूर्व पदाधिकारी बैठक बस्दै छ ।
बैठक काँग्रेस सभापति शेर बहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बोलाइएको हो ।
पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका परिमार्जन गर्नेबारे शीर्षनेतासहितको बैठक बोलाइएको बताइएको छ ।
पार्टीको १४ औं महाधिवेशन र क्रियाशील सदस्यता विवादका सन्दर्भमा शुक्रबारदेखि काँग्रेस शीर्षस्थ नेताहरु बैठक जारी छ ।
आगामी भदौँ १६ गतेका लागि तय गरिएको महाधिवेशनको कार्यतालिका प्रभावित हुने देखिएपछि त्यसको निकासका लागि नेताहरु छलफलमा छन् । काँग्रेसले वडा तहको अधिवेशन यही १२ साउनबाट सुरु गर्नेगरी कार्यतालिका बनाएको थियो । सो कार्यतालिका प्रभावित हुने निश्चित भइसकेको छ ।
अब काँग्रेसको वडा तहको अधिवेशन साउन अन्तिममा गर्नेगरी सार्ने तयारी गरिएको छ । तर मिति भने तय भइसकेको छैन । बैठकमा क्रियाशील सदस्यतामा देखिएको विवाद र पार्टीको महाधिवेशनको तयारीका बारेमा पनि छलफल हुने छ ।

