

चाडपर्वलाई लक्षित गर्दै सरकारले ३० हजार मेट्रिकटन चिनी आयात गर्ने

काठमाडौं – चाडपर्वलाई लक्षित गर्दै सरकारले भन्सार सहुलियतको ३० हजार मेट्रिकटन चिनी आयात गर्ने भएको छ । उक्त चिनी खरिदको लागि अर्थ मन्त्रालयसँग सहमति मागिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
अर्थको सहमति मन्त्रिपरिषद्बाट निर्णय गराएर साल्ट ट्रेडिङ वा खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई चिनी आयातको अनुमति दिइने मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् ।
अघिल्लो वर्ष पनि सरकारले सहुलियतको ३० हजार मेट्रिकटन चिनी खरिद गरेको थियो । तर, निजी चिनी उत्पादकले भने यो वर्ष चिनीको उत्पादन राम्रो हुने भएकाले आयात जरुरी नभएको बताएका छन् ।
बजारमा प्रतिकिलो एक सय रुपैयाँसम्ममा चिनी बिक्री भइरहेको मन्त्रालयले जनाएको छ । बजार भाउ नियन्त्रणमा राख्न र मुख्य चाडपर्वमा हुने अभाव रोक्न सहुलियतको चिनी खरिद गर्न लागिएको मन्त्रालयको भनाइ छ ।

