सत्ता समीकरणको नयाँ ‘इपिसेन्टर’ कोटेश्वर

प्रधानमन्त्री नियुक्त हुनासाथ देउवा पुगेका थिए, मंगलबार प्रचण्ड र त्यसपछि यादवले नेता नेपाललाई भेट गरेका छन्


काठमाडौं– नयाँ सत्ता समीकरणको केन्द्रविन्दु (इपिसेन्टर) एमाले नेता माधवकुमार नेपाल निवास कोटेश्वर बनेको छ। यसअघि प्रधानमन्त्रीमा रहेका केपी शर्मा ओली हुँदा बालुवाटार राजनीतिको केन्द्रविन्दु थियो।

तर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षको गठबन्धन बनेपछि नेपाल निवास कोटेश्वरबाट राजनीतिक परिदृश्यका रेखा कोरिन थालेका छन्।

प्रधानमन्त्रीमा नियुक्त भएको भोलीपल्ट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए। विश्वासको मत लिनुअघि गठबन्धनमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त कयौं पटक पुगेका छन्।

मंगलबार पनि प्रचण्ड विहानै नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए र त्यसलगत्तै जसपा अध्यक्ष यादप पुगेका हुन्।

‘राजनीतिमा नयाँ समीकरण र निर्णायक भएर नेता नेपाल उदाएका कारण ओलीइतरको गठजोड बन्न सफल भयो र देउवा प्रधानमन्त्रीमा नियुक्त हुन सफल भए। यसकारण पनि नेता नेपाल केन्द्रमा रहेका छन्’, उनीनिकट एक नेताले भने,‘अबको सत्ता राजनीति कसरी अगाडि बढ्नेछ भन्नेमा पनि नेपाल निर्णायक हुनेछन्।’

केही दिन अघि मात्र प्रचण्डसहित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको समूह पनि कोटेश्वरमा भेटवार्ताका लागि पुगेको थियो। सो क्रममा नेता नेपालले पूर्वमाओवादी एक भएर जानका लागि सुझाव दिएका थिए।

एमालेमा नेता नेपाललाई कारबाही गर्नुपर्ने माग उठिरहेका बेला उनको महत्व सत्ता गठबन्धनमा अझ बलियो भएको छ। एमालेले उनीलगायतलाई कारबाही गरी हटाए नयाँ कम्युनिस्ट धु्रवीकरण गर्ने तयारीमा प्रचण्डलगायत रहेको पनि बुझिएको छ।

‘अब कोटेश्वरबाट नै एकीकृत कम्युनिस्ट पार्टी र सहमतिको नयाँ धार अगाडि बढाउने तयारी भएको छ। यसकारण पनि नेता नेपाल र उनको निवासमा हुने वार्ता महत्वपूर्ण छन्’, माओवादी केन्द्रका एक जना स्थायी कमिटी सदस्य भन्छन्,‘बृहत कम्युनिस्ट मोर्चा तत्कालै बन्नेछ।’

मंगलबारको भेटमा भने सरकारलाई सहज चलाउनका लागि राजनीतिक संयन्त्र निर्माण गर्ने विषयमा कुराकानी भएको स्रोतले जनाएको छ। योसँगै सरकार विस्तारका लागि मन्त्रीको नाम दिएर प्रधानमन्त्री देउवालाई सजिलो बनाउन पनि प्रचण्ड र यादवले नेता नेपाललाई प्रस्ताव गरेको बताइन्छ।

प्रतिक्रिया