

जसपा विवाद: आयोगमा बहस जारी, आधिकारिकता नपाउनेले नयाँ दल दर्ता गर्न पाउने

काठमाडौं – जनता समाजवादी पार्टी नेपालको आधिकारिकता सम्बन्धी विवादको बारे निर्वाचन आयोगमा बहस जारी छ । बिहान ११ बजेदेखि नै बहस चलिरहेको छ ।
आयोगले गठन गरेको इजलासमा दुवै तर्फबाट बहस चलिरहेको जसपाका कार्यकारिणी सदस्य केशव झाले बताए । दुवैतर्फका अधिवक्ताले आ-आफ्नो तर्फबाट धारणा राख्ने क्रम जारी छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीको आधिकारिकताका लागि दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । सो निवेदन दिएपछि आयोगले सहमतिका लागि दुवै पक्षलाई बोलाएको थियो । दुवै पक्षले पार्टी अलग गर्ने भनि पत्रमा हस्ताक्षर गरेपछि आयोगले पार्टीको आधिकारिकतासम्बन्धी विवाद समाधानका लागि इजलास गठन गरी बहस सुरु गरेको छ ।
जसपामा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, अशोक राई, महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु एकातर्फ छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण लगायतका नेताहरु अर्को समूहमा छन् ।
यादव नेतृत्वको समूहले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध उभिने निर्णय गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको थियो । ठाकुर पक्षले आफ्ना माग पूरा गर्न ओली सकरात्मक रहेको भन्दै ओलीको नेतृत्वमा सरकार बनाउन समर्थन दिएको थियो । दुवै पक्षले आफूसँग बहुमत रहेको दावी गर्दै आएका छन् ।
शनिबारमात्रै ठाकुर पक्षका ५ जना सांसदहरु यादव समूहको बैठकमा सहभागी भएका छन् । जसबाट यादव समूह केन्द्रीय कार्यकारिणी समिति र संसदीय दलमा बहुमतमा देखिएको छ ।
प्रमुख निर्वाचन आयुक्तको नेतृत्वमा रहेको इजलासमा आजबाट सुरु भएकाे सुनुवाई सकिएपछि आधिकारीकताको टुंगो लाग्ने छ । जसपाको आधिकारिकता नपाउने पक्षलाई आयोगले नयाँ दल दर्ताका लागि समय दिनेछ ।

