

दिल्लीबाटै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन खनालको अपिल!

काठमाडौं – नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अपिल गरेका छन्। भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालले आइतबार एक वक्तव्य जारी गर्दै देउवालाई मत दिन आग्रह गरेका हुन्।
२८ असारको सर्वोच्चको फैसलापछि उत्पन्न नयाँ राजनीतिक परिस्थितिको विश्लेषण गर्दै फैसलालाई दृढतापूर्वक कार्यान्वयन गरेर पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनका निम्ति जो कसैले जुनसुकै कुरा त्या गर्न पनि तयार हुनुपर्ने खलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
‘म नेकपा एमालेका संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कुनैपनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दछु’ उनले भनेका छन्, ‘मेरो मत पनि विश्वासको मत लिँदा देउवा सरकारकै पक्षमा हुने कुरा पनि यो वक्तव्यमार्फत प्रष्ट पार्न चाहन्छु।’
आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदैछन्।
‘देउवा सरकारलाई विश्वासको मत प्रदान गरौं, सकेसम्म पार्टीमा सर्वसम्मत बनाउन कोसिस गरौं। त्यो भएन भने पनि विधिपूर्वक अन्तरपार्टी वैचारिक बहसहरु सञ्चालन गरौं। हाम्रो पार्टीको दोस्रो पुस्ताका साथीहरुको पहलकदमीलाई समर्थक गरौैं र एकता संघर्ष र उन्नतस्तरको एकताको द्धन्द्धनत्मक प्रक्रियामार्फत पार्टीलाई नयाँ धरातलमा एकताबद्ध बनाउँदै राष्ट्रिय राजनीतिमा प्रधावकारी भूमिका खेलौं,’ विज्ञप्तिमा भनिएको छ।

