

घिमिरे प्रकरणः आक्रमण गर्नेविरुद्ध स्पष्टीकरण माग गर्दै तीनदिनभित्र कारबाहीको टुंगो लगाउन निर्देशन

काठमाडौं — नेपाली कांग्रेसको पदाधिकारी बैठकले केन्द्रीय सदस्य श्याम घिमिरेमाथि आक्रमण गर्नेलाई कारबाहीका लागि निर्देशन दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको कांग्रेस पदाधिकारीको आकस्मिक बैठकपछि सभापति देउवाले उक्त निर्देशन दिएका हुन् ।
देउवाले शुक्रबार क्रियाशील सदस्यतासम्बन्धी विवादका क्रममा केन्द्रीय सदस्य घिमिरेमाथि भएको आक्रमणमा संलग्न सिन्धुपाल्चोक क्षेत्र नं. १ का सभापति बालकृष्ण बस्नेतलगायतका व्यक्तिसँग २४ घन्टाभित्र स्पष्टीकरण लिई पार्टी विधान बमोजिम तीनदिनभित्र कारबाहीको टुंगो लगाउन अनुशासन समितिलाई निर्देशन दिएका छन् ।
सभापति देउवाको सभापतित्वमा सम्पन्न बैठकमा रामचन्द्र पौडेल, पार्टीका पदाधिकारीहरु एवं केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला सहभागि भएको छलफल एवं परामर्श पश्चात कृयाशील सदस्यता छानविन समितिले पेश गरेको निर्णय बमोजिमको पत्र अनुरुप उक्त कारबाही गर्ने निर्देशन दिइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

