

कांग्रेस आसन्न महाधिवेशनः कोइराला सन्तानको ‘लञ्च मिटिङ’मा के सहमति हुँदैछ?

काठमाडौं– नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा कोइराला परिवारको विरासत फर्काउनका लागि तीन सन्तानले शनिबार ‘लञ्च मिटिङ’ गरेका छन्।
महामन्त्री डा. शशांक कोइराला निवासमा सभापतिका अर्का प्रत्यासी डा. शेखर कोइराला र सोही पदमा दाबी गर्दै आएकी सुजाता कोइरालाको लञ्च मिटिङ भएको हो।
कोइराला परिवारबाट साझा सभापतिका उम्मेदवार तयार गर्नेगरी भएको छलफलमा तीन जना मध्य एक जना उठ्ने निश्चित भएको छ। सभापतिका लागि लामो समयसम्म पनि राजनीतिक अभ्यास जारी गरेका डा. शेखरका नाममा सहमति जुटाउने तयारी भएको बताइन्छ।
डा. शशांकले पनि सभापतिका लागि इच्छा देखाएका छन्। यद्यपि, संगठनात्मक रुपमा शेखरले अभ्यास गरेका कारण मिलाउने कोशिश भइरहेको छ।
वीपी कोइरालापुत्र शशांक, केशवपुत्र शेखर र गिरीजापुत्री सुजाताबीच यसअघि नै एक जना सभापतिमा उठ्ने तय भएको थियो। बिराटनगर पुगेर पनि यी तीन जना मध्ये एक जना सभापतिमा उठ्ने सहमति भएको थियो।

