

माओवादी केन्द्रलाई एक मन्त्रालय दिएर मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री राउत

सप्तरी – प्रदेश २ सरकारका मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले राजीनामा दिएका छन् । नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउनका लागि मन्त्री यादव र राज्यमन्त्री कुशवाहाले राजीनामा बुझाएका हुन् ।
जनता समाजवादी पार्टीबाट नेतृत्व गर्दै आएका मन्त्रीद्वयले आजै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतसमक्ष स्वेच्छाले राजीनामापत्र बुझाएका हुन् । यसैबीच मुख्यमन्त्री राउतले शनिवार माओवादी केन्द्रलाई एक मन्त्रालय दिएर मन्त्रिपरिषद् विस्तार गरिने भएको छ ।
पहिलेदेखि दुईवटा मन्त्रालय मात्र लिएर प्रदेश सरकारमा सहभागी हुने अडानमा रहेको माओवादी केन्द्र एक महत्त्वपूर्ण मन्त्रालय लिएर सरकारमा सहभागी हुने तय भएको हो ।
प्रदेश सरकारमा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह मन्त्री र रुवी कर्ण राज्यमन्त्रीको रुपमा प्रदेश सरकारमा सहभागी हुने भएको छ। दुवै जनाले शनिबार दिउँसो ३ बजे मधेश भवनमा पद तथा गोपनीयताको शपथ लिने तयारीमा जुटेका छन् ।

