

सिन्धु्पाल्चोकको क्रियाशील सदस्य विवादको घटनामा संलग्न छैन, ममाथि अन्याय भयोः सगुन श्रेष्ठ

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका सिन्धुपाल्चोक उपाध्यक्ष सगुन श्रेष्ठले क्रियाशील सदस्यताका विषयमा बागमती प्रदेशको विवादमा आफूबारे चर्चामा आएको समाचार सत्य नरहेको दाबी गरेका छन्।
अनलाइनन्युजमा आएको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै उनले घटना विवरण उल्लेख गरिएको मितिमा आफू काठमाडौंमा नरहेको दाबी गरेका हुन्।
‘पूर्वमन्त्री बस्नेतको निर्देशनमा गुन्डा नाइकेले कुटे कांग्रेस केन्द्रीय सदस्य’ शीर्षकमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै उनले खण्डन गरेका हुन्।
उनी लेख्छन्–
नेपाली कांग्रेस मेरो आस्था हो, म नेपाली कांग्रेस सिन्धुपाल्चोक सिपाही र तरुण दल सिन्धुपाल्चोक जिल्ला उपाध्यक्ष हुँ। म बिहीबार २०७८–३–३१ गते यति एयर लाइन्सबाट बिहान ९ बजेको उडानमा बुटवल आएको थिएँ र अहिले यहिँ छु। मेरो व्यापार यहिँ छ। म यसैको सिलसिला केही दिन अगाडि काठमाडौं आएको थिएँ र पार्टी तथा तरुण साथीहरूसँग भेटघाट गरेको पनि हो।
तर केही नेता तथा साथीहरूले नयाँ क्रियाशील सिन्धुपाल्चोक आउनु हुँदैन भनेर रिपोर्ट गरेको, भएको छलफलमा अतिरन्जित ढंगले मेरो मित श्री सन्जय लामाको नाम र मेरो नाम जोडिएकोमा गम्भीर ध्यानाकर्षण भएको छ।
म यस घटनामा हाम्रो कुनै संलग्नता नरहेको सम्पूर्णमा जानकारी गराउन चाहन्छु। सम्पूर्ण सिन्धुपाल्चोक भरिको नयाँ क्रियाशील सहित अधिबेशन समयमा हुनुपर्छ भन्ने पक्षमा सधैं रहेको समेत अवगत गराउन चाहन्छु।
यता, नेपाल तरुण दल सिन्धुपाल्चोक जिल्ला कार्य समितिले पनि विज्ञप्ति जारी गरी कांग्रेस केन्द्रीय सदस्य श्याम घिमिरेमाथि भएको आक्रमणको निन्दा गरेको छ। उसले उक्त घटनामा तरुण दलका जिल्लाका नेता संलग्न रहेको भन्ने विवरणमा सत्यता नभएको जनाउँदै दोषीलाई कारबाहीको माग समेत गरेको छ।

