

खतरामा रहेका अफगानी दोभाषेहरुलाई अन्यत्रै सार्ने अमेरिकी तयारी

काबुल – अमेरिकाले अफगानी दोभाषेहरुलाई अन्यत्र देशमा सार्ने काम सुरु गर्दैछ । यी दोभाषेहरुले युद्धका दौरान अमेरिकी नेतृत्वको सेनालाई सहयोग गरेका थिए । तर, अब अमेरिकी सेना फर्कने भएपछि उनीलाई पनि अफगानिस्तान बस्न खतरा छ । ह्वाइट हाउसले जुलाईको अन्तिम सातादेखि ‘अपरेशन एलाई रिफ्युजी’ सुरु गरिने जनाएको छ ।
अमेरिकाले ११ सेप्टेम्बरसम्म सबै सैनिकहरुलाई फिर्ता बोलाउने समयसीमा यसअघि तोकेको थियो । त्यसभन्दा अघि नै दोभाषेहरु स्थानान्तरणको प्रक्रिया सुरु हुनेछ । पछिल्ला केही साता तालिवानले देशका धेरै भूभाग कब्जामा लिन थालेको छ ।
‘यी सहासी व्यक्तिहरु हुन् । पछिल्ला धेरै वर्षमा उनीहरुले खेलेको भूमिकालाई हामी सम्मान गर्न चाहन्छौं,’ ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले दोभाषेहरुबारे भनिन् । सुरुवाती चरणमा २५ सय व्यक्तिहरुलाई सारिने एक अधिकारीकाले नाम उल्लेख नगर्ने सर्तमा रोयटर्सलाई जानकारी दिएका छन् । भिसा प्रक्रिया पूरा नभएसम्म उनीहरुलाई अमेरिका वा तेस्रो मुलुकमा सैनिक क्याम्पमा राखिनेछ ।
अफगानिस्तानमा २००१ मा युृद्ध सुरु भएयता अमेरिकी सरकार वा अमेरिकी नेतृत्वको सेनासँगै काम गर्नेहरुलाई लागि विशेष आप्रवासन भिसा कार्यक्रम ल्याइएको छ । अफगानिस्तानका धेरै भूभाग तालिवानले कब्जा गर्न थालेसँगै यी व्यक्तिहरुमाथि खतरा बढेको छ । तालिवानले ईरान, ताजकिस्तान र तुर्केमिनिस्तानका सीमा क्षेत्रमा अफगानी सेनालाई बिस्थापित गरेर बोर्डर पोस्ट कब्जा गरिसकेको छ ।
बुधबार तालिवानी मिलिसियाहरुले कन्दहर नजिकको क्षेत्रमा आफ्नो फहराएका थिए । तालिवानको आक्रमणमा परेर अफगानी सुरक्षा फौज पूर्णतः ध्वस्त हुने डर धेरैलाई छ । सन् २००१ मा अफगानिस्तानमा युद्ध घोषणा गरेका तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले सेना फिर्ती निर्णय निकै खराब हुनसक्ने चेतावनी दिएका छन् । अमेरिकाले यस्तो निर्णय गर्दै अफगानी जनतालाई मृत्युको मुखमा छाडिदिएको उनको दाबी छ । एजेन्सी

