(अ)सम्भव छैन, माधव नेपालबिनाको एमाले!

अब स्थायी कमिटीको बैठकका एजेन्डा के–के बन्न सक्छ?


काठमाडौं– सर्वोच्च अदालतको आदेशानुसार देशमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि यसको ठूलो मूल्य र चोट प्रमुख प्रतिपक्षी बनेको नेकपा एमालेले चुकाएको छ।

एमालेभित्र नेता माधवकुमार नेपाल पक्षका २३ जना सांसद नै देउवा प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने सर्वोच्चको आदेशका लागि निर्णायक बनेपछि यस्तो अवस्था आएको हो।

एमाले नेतृत्वको सरकार गिराउनका लागि नेता नेपाल निर्णायक भएको ठहर अध्यक्ष केपी शर्मा ओलीले गरिसकेका कारण बालुवाटार छाडी बालकोट पुग्नासाथ भनिदिए,‘आत्मालोचना, क्षमा भन्ने चिज माधव नेपालका लागि पार्टीले स्वीकार गर्दैन।’

यसको अर्थ अब नेता नेपाललाई ओली कारबाही गरेरै अगाडि बढ्ने मुडमा छन्। यसैक्रममा उनले नेपाल पक्षमा लागेका अन्यलाई भने माफी दिन सकिने पनि बताए। स्थायी कमिटीको बैठकअघि उनले दिएको यो अभिव्यक्ति निक्कै सनसनीपूर्ण विवरणका रुपमा लिइएको छ।

के माधव नेपालबिनाको एमाले सम्भव छ? या असम्भव ठहर हुनेछ?

यो प्रश्नका विरोधाभाष उत्तरहरू आउन थालेका छन्। एमालेभित्रको आन्तरिक विवाद निरुपणका लागि दोस्रो तहका नेताको कार्यदलमा १० बुँदे समझदारी बनेको थियो। त्यसैको जगमा रहेर नेता नेपालले अब विपक्षी गठबन्धनमा नरहने घोषणा पनि गरेका थिए। तर, अदालतमा बुझाएको हस्ताक्षर भने फिर्ता नलिएका कारणले देउवा सहज प्रधानमन्त्रीमा नियुक्त गरिए।

‘नेता नेपालले पार्टीविरोधी र अनुशासनहिन काम गरेका कारण अब कारबाही हुन सक्छ। माधव नेपाल बिनाको एमाले बन्छ’, कार्यालय सचिव शेरबहादुर तामाङले भनेका छन्,‘उहाँका कारणले पार्टीको सरकार गिरेको छ, यो माफीयोग्य कदम मान्न सकिँदैन।’

ओली पक्षका कतिपय नेताले माधव नेपालबिनाको एमाले बन्ने र आगामी चुनावमा स्पर्धामा जाने तर्क गरिरहेका छन्। जहाँ नेपाल पक्षकाले भने त्यो सम्भव नहुने दाबी गरिरहेका छन्।

तर माधव नेपालबिनाको एमाले असम्भव पनि छैन। ‘७ महिनादेखि उनी पार्टी विरोधी गतिविधिमा सक्रिय भए पनि एमालेको साख गिरेको थिएन। जसले माधव नेपालको महत्व बुझेको छ, उसैकामा गए भइहाल्यो’, ओलीनिकट एक नेता भन्छन्,‘पार्टीमा अध्यक्षलाई एक्ल्याउनेदेखि के–के हर्कत भएको थिएन र? नेकपा हुँदा पनि भएको होइन र?’

स्थायी कमिटीमा नेता नेपाललाई कारबाही गर्नेसहितका एजेन्डा लैजान लागिएको छ। ‘मिल्ने कुरा आउनासाथ आफू पछि नहट्ने बरु पार्टीलाई डुबाउने निर्णय गर्ने नेता नेपाललाई कसरी माफी दिन सकिन्छ?’, प्रश्न उठ्न थालेका छन्,‘एमालेको विकल्प एमाले नै हुन्छ भन्नुपर्नेमा कांग्रेसलाई देख्ने नेता नेपालको विचार कस्तो हो र कहाँबाट परिचालित छन्?’

प्रतिक्रिया