देउवा प्रधानमन्त्री बन्नासाथ भ्रष्टाचार मुद्दा चलाइएका गच्छादारले गरे ‘आत्मसमर्पण’

सभापतिले कार्यकारी प्रमुखको शपथ लिनासाथ फरार रहेका उपसभापति अदालतमा हाजिर हुनु अर्थपूर्ण


काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिएको भोलीपल्टै अर्थात् बुधबार बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुद्दा चलाइएका उपसभापति विजयकुमार गच्छादारले विशेष अदालतमा आत्मसमर्पण गरेका छन्।

उनी अदालतको म्याद नबुझेका कारण फरार सूचीमा रहेका थिए। उनको सुनसरीस्थित घरमा अदालतले पूर्जी टाँसेको थियो।

सरकारी जग्गा व्यक्तिको नाममा लगेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि म्याद नबुझी गच्छादार फरार थिए।

देउवा शक्ति केन्द्रको कार्यकारी जिम्मेवारीमा पुग्नासाथ गच्छादार अदालतमा हाजिर हुनुलाई अर्थपूर्ण मानिन्छ। सम्भवतः शक्तिको आडमा नै अदालतले गच्छादारलाई धरौटीमा रिहा गर्न सक्छ।

उनलाई थुनामा राखेर अनुसन्धान गर्ने कि धरौटीमा छाड्ने भन्ने सम्बन्धमा थुनछेक बहस हुनेछ।

फागुनमा विशेषले १५ दिनभित्र अदालत उपस्थित हुनु भनी म्याद पठाएपछि गच्छदार उपस्थित नभई फरार थिए। उनको नाममा पुनः म्याद जारी गरेको थियो।

गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। गच्छादार देउवानिकट नेता हुन्। उपसभापति विमलेन्द्र निधिले कांग्रेस महाधिवेशनमा सभापतिमा दाबी गरेपछि देउवाले गच्छादारलाई चेपेका छन्।

प्रतिक्रिया