

अदालतको फैसला देश र जनताका पक्षमा : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्च अदालतको फैसला देश र जनताको पक्षमा भएको बताएका छन् ।
नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिको विशेष बैठकलाई सम्बोधन गर्दै नेता सिंहले सरकारले गरेको असंवैधानिक कामलाई अदालतले सच्चाएको बताए ।
पूर्व उपप्रधानमन्त्री सिंहले नयाँ सरकारले कोरोना महामारीलाई योजनाबद्ध रुपले सामना गरी सबै जनतालाई खोपको व्यवस्था गर्ने उल्लेख गरे । कांग्रेस सरकारको प्रभावकारिता जनताले महसुस गर्ने गरी काम गर्ने उनको भनाइ थियो ।
पार्टीका पूर्वमहामन्त्री सिंहले कांग्रेसको आगामी १४औँ महाधिवेशनले देश र जनताका लागि काम गर्नसक्ने सक्षम नेतृत्व छान्नुपर्ने बताए ।
कांग्रेसले देशलाई महत्वपूर्ण अवस्थामा सङ्कटबाट उन्मुक्ति गराउँदै आएकाले अवको नेतृत्व समय सुहाउँदो हुनुपर्ने उनको भनाइ थियो ।
उनले देश र जनतालाई शिरमा राखेर पार्टीलाई मजबुत र सफल बनाउनको लागि आगामी महाधिवेशनमा आफू नेतृत्वका लागि तयार रहेको स्पष्ट पारे । कांग्रेसको १४औँ महाधिवेशन निर्धारित समयमा नै सम्पन्न हुने उनको भनाइ थियो ।

