

देउवालाई संविधानको कुन धारा अन्तर्गत प्रधानमन्त्री नियुक्त गरियो?
‘मिति समेत उल्लेख गरिएको छैन विज्ञप्तिमा’

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संविधानको कुन धाराअन्तर्गत प्रधानमन्त्रीमा नियुक्त भएका हुन्? राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख नगरेपछि यसबारे टिकाटिप्पणी हुन थालेको छ।
मंगलबार राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिबाट देउवालाई संविधानको कुन धारा अन्तर्गत नियुक्त गरियो भन्ने उल्लेख छैन। राष्ट्रपति कार्यालय यसबारेमा मौन छ।
राष्ट्रपतिले संविधानको धारा उल्लेख गरेर प्रधानमन्त्री नियुक्त गर्ने प्रचलन रहे पनि देउवाको नियुक्तिमा सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८ असार २८ गतेको फैसला बमोजिम नियुक्त गरिएको उल्लेख छ।
सोमबार सर्वोच्च अदालतले देउवालाई संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेको थियो। तर, विज्ञप्तिमा धारा, उपधारा केही उल्लेख गरिएको छैन्।
यस्तै राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा मिति समेत उल्लेख गरिएको छैन। कुन मितिमा देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको हो? प्रश्न उब्जिएको छ। यता राष्ट्रपति कार्यालय स्रोतका अनुसार अदालतको परमादेश पालना गरिएको हो।

