

प्रतिनिधिसभा विघटनबारे मुद्दाको पेसी आज, फैसला आजै आउने !

काठमाडौं — प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको पेसी आजका लागि तोकिएको छ ।
गत सोमबार बहस सकिएपछि रिट निवेदक र विपक्षीको बहस र एमिकस क्युरीको राय सुनिसकेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दा हेर्दाहेर्दैमा राखेर आज अर्थात् असार २८ गतेका लागि पेशी तोकेका थिए । एक सातापछिका लागि पेसी तोकिनुमा आजै फैसला आउने अनुमान पनि गरिएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहित १४६ सांसदले सर्वोच्च अदालतमा रिट दायर गर्दै धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश माग गरेका छन् । उक्त रिटमाथि प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ भएको थियो ।
सर्वोच्चबाट मुद्दाको पेसी एक साता पछि सार्नु र नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलको अगुवाईमा आइतबार मध्यरातमा सहमति हुनुमा केही सामाञ्जस्यता हुन सक्ने अनुमान रहिरहेको परिवेशमा आजै सर्वोच्चबाट फैसला आउने अड्कल समेत गरिएको छ ।

