ब्राजिल भर्सेस अर्जेन्टिनाः मेसी–नेमार आमनेसामने


काठमाडौं – कोपा अमेरिका २०२१ को फाइनल भिडन्तमा ब्राजिल र अर्जेन्टिना आइतबार ब्राजिलको रियो दी जेनेरियोस्थित माराकाना रंगशालामा भिड्दैछन्। यि दुई टोलीबीचको खेल नेपाली समयअनुसार आइतबार बिहान ५ः४५ बजे हुनेछ।

अर्जेन्टिना र ब्राजिल विश्वकै शक्तिशाली फुटबल राष्ट्रमा गनिन्छन्। योपटकको फाइनलको मजा नै विश्व फुटबलका दुई हस्ती मैदानमा आमने सामने हुनेछन्। अर्जेन्टिनाका लियोलन मेसी र ब्राजिलका नेमार जुनियरबीचको भिडन्त विश्व ठूलो उत्साहका साथ हेर्नेछ।

यी दुई खेलाडी आफैमा अति नै मिल्ने साथी पनि हुन्। बार्सिलोनाबाट नेमार र मेसीसँगै खेल्दा दर्जनौँ उपाधिका सहयात्री बनेका थिए। तर, भोलिको खेलमा मेसीले मैदानमा नेमारलाई एक प्रमुख विपक्षीका रुपमा लिएका छन्।

अर्जेन्टिनी कप्तान समेत रहेका मेसीले राष्ट्रिय टोलीको लगभग तीनदशकको उपाधि (कोपाको) खडेरी तोड्ने धेरैले विश्वास गरेका छन्। साथै साबिक विजेताको नाताले ब्राजिलले पनि उपाधि रक्षाका लागि भरपुर प्रयास गर्ने नै छ।

ब्राजिलले अहिलेसम्म कोपा अमेरिकाको उपाधि नौपटक हात पारेको छ भने अर्जेन्टिनाले १४ पटक हात पारेको छ। ब्राजिल १० औं तथा अर्जेन्टिना १५ औं पटक कोपाको च्याम्पियन बन्ने दाउमा छन्। अर्जेन्टिना च्याम्पियन बन्न सके उरुग्वेको सर्वाधिक कीर्तिमानलाई बराबरी गर्नेछ।

घरेलु मैदानमा हुने खेलमा ब्राजिल अर्जेन्टिनालाई हराउँदै लगातार उपाधि जित्ने लक्ष्यमा छ। तर अर्जेन्टिनाविरुद्धको खेलमा ब्राजिललाई जित हात पार्न सहज भने हुनेछैन।

टोलीसँग स्टार फरवार्ड नेयमारसँगै रोबर्टो फिर्मिनो, क्यासमिरो, रिचार्लीसन, थियागो सिल्भा, मार्किन्हस, एलेक्स सान्द्रो, डानिलो, लुकास पाक्वेटा, एभर्टन, इडर मिलिसाओ, एभर्टन रिवेइरो र गोलरक्षक इडर्सन मोराएस रहेका छन्।

यता, अर्जेन्टिना पनि घरेलु टोलीलाई हराउँदै सन् १९९३ पछि पहिलोपटक ठूलो प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा मैदानमा उत्रनेछ। तर बलियो ब्राजिलविरुद्ध जित निकाल्न अर्जेन्टिनालाई पनि सहज भने छैन। ब्राजिललाई हराउँदै च्याम्पियन बन्न सके मेस्सीले राष्ट्रिय टोलीबाट पहिलो उपाधिको स्वाद चाख्नेछ।

टोलीमा मेसीसँगै लोउटारो मार्टिनेज, एन्जल डि मारिया, सर्जियो अगुएरो, लियान्द्रो ड्यानियल पारेडेस, रोड्रिगो डि पल, गुइडो रोड्रिग्वेज, एलेजान्द्रो गोमेज, जियोभानी लो सेल्सो, निकोलस ओटामेन्डी, निकोलस टाग्लियफिको, मार्कोस एकुना, क्रिस्टियन रोमेरो र सेमिफाइनलमा कोलम्वियाविरुद्ध नायक बनेका गोलरक्षक इमिलियानो मार्टिनेज रहेका छन्।

उसो त अर्जेन्टिना यो संस्करणको कोपा आफै आयोजना गरेर उपाधि जित्न चाहन्थ्यो। तर कोभिड–१९ को महामारी कारण रोगको संक्रमण र मृत्युदर बढ्दो भएपछि उसले आयोजना गर्न सकेन। त्यसैले यो प्रतियोगिता अहिले ब्राजिलमा भइरहेको छ। छिमेकी मुलुकमा आयोजना भए पनि अर्जेन्टिना उसकै घरेलु भूमिमा आयोजकलाई हराएर उपाधि कब्जा गर्ने दाउमा छ।

दक्षिण अमेरिकाका दुई महारथी अहिलेसम्म १११ पटक आमनेसामने हुँदा अर्जेन्टिनाले ४६ खेल जितेको छ भने ब्राजिलले ४० खेल जितेको छ। बाँकी २५ खेल बराबरीमा सकिएको थियो।

ब्राजिलको फाइनल यात्रा

समूह चरण

ब्राजिल ३–० भेनेजुएला
ब्राजिल ४–० पेरु
ब्राजिल २–१ कोलम्बिया
ब्राजिल १–१ इक्वेडर

क्वार्टरफाइनल

ब्राजिल १–० चिली

सेमिफाइनल

ब्राजिल १–० पेरु

अर्जेन्टिनाको फाइनल यात्रा

समूह चरण

अर्जेन्टिना १–१ चिली
अर्जेन्टिना १–० उरुग्वे
अर्जेन्टिना १–० पाराग्वे
अर्जेन्टिना ४–१ बोलिभिया

क्वार्टरफाइनल

अर्जेन्टिना ३–० इक्वेडर

सेमिफाइनल

अर्जेन्टिना १–१ कोलम्बिया (३–२ पेनाल्टी सुटआउट)

फाइनल

अर्जेन्टिना–ब्राजिल

ब्राजिल भर्सेस अर्जेन्टिनाको इतिहास

प्रतिक्रिया