प्रधानमन्त्री ओली सिन्धुपाल्चोक जाँदै


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली आज बाढी प्रभावित क्षेत्र सिन्धुपाल्चोक जाने भएका छन् । बाढीले सिन्धुपाल्चोकका विभिन्न क्षेत्रमा पुर्‍याएको क्षतिको अवलोकन गर्न आज नेपाली सेनाको हेलिकप्टरबाट बिहान १० बजे सिन्धुपाल्चोक जाने कार्यक्रम तय भएको हो ।

उनले सिन्धुपाल्चोकमा अवस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढीले पुर्‍याएको क्षति, हेलम्बु गाउँपालिका र मेलम्ची गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिको निरीक्षण गर्नेछन् ।

यसैगरी बाढी पीडितलाई प्रधानमन्त्री राहत वितरणको घोषणा गर्ने कार्यक्रम पनि रहेको छ । मेलम्ची बजार र हेलम्बुको गणेश बगर भन्ने स्थानमा कार्यक्रमको तयारी गरिएको र त्यहाँ प्रधानमन्त्री सहभागी हुने बताइएको छ ।

त्यहाँका बाढीपीडित, जनप्रतिनिधि,राजनीतिक दलका नेता कार्यकर्तासँग अन्तरक्रिया गर्ने कार्यक्रमसमेत तय भएको छ ।

असार १ गते आएको बाढीले मेलम्ची खाने पानी आयोजना, मेलम्ची बजार लगायत गाउँपालिकाका विभिन्न स्थान र हेलम्बु गाउँपालिकाका विभिन्न स्थानमा ठुलो क्षति पुर्‍याएको छ ।

प्रतिक्रिया