

दल दर्ता खारेजीको निवेदनमाथि माओवादी केन्द्रले भन्यो- बदनाम बनाउने मनसाय

काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले निर्वाचन आयोगमा परेको दल दर्ता खारेजीको निवेदनप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।
एमालेमा गएका पूर्व माओवादी केन्द्रका नेताहरूले माओवादी केन्द्र खारेजीको माग गर्दै अधिवक्ता सरोज बुढाथोकीमार्फत् आयोगमा बुधबार निवेदन दर्ता गरेका थिए । सो निवेदन अनुसार उनीहरूको माग ठिक छ वा छैन त्यसबारे आयोगले निचोड दिने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।
केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले शुक्रबार विज्ञप्ति जारी गर्दै त्यसप्रति माओवादी केन्द्रको ध्यानाकर्षण भएको भन्दै अवसरवादी र अनैतिक तत्त्वले पार्टीलाई बदनाम गराउन निवेदन दर्ता गराएको बताएका हुन् ।
‘केही अवसरवादी, स्वार्थी, लालची, अनैतिक तत्त्वलेले यस प्रकारको दुष्प्रचार गरी पार्टीलाई बदनाम गराउन सकिन्छ भन्ने मनशायले उक्त कार्य गर्न गराउन प्रयत्न गरेको देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘संविधान, कानुन, विधि विधान विपरीत दुष्प्रचार गरिएकोमा पार्टीका सम्पूर्ण अंग नेता कार्यकर्ता, शुभचिन्तक भ्रममा नपर्न आग्रह गर्दछौं ।’
माओवादी केन्द्रले पार्टीसँग सरोकार नभएको व्यक्ति निवेदक रहेको र दल दर्ता खारेजी सम्बन्धी सामान्य कानुनी प्रक्रियाका बारेमा जानकारी नहुनेले त्यस्तो हरकत गर्नु हास्यास्पद भएको बताएको छ ।
०६९ देखि महाधिवेशन नभएको भन्दै नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार माओवादी केन्द्रको दर्ता खारेजी गर्नुपर्ने माग आयोगमा दर्ता गराएको निवेदनमा छ ।
गत असार २३ गते माओवादी केन्द्रका पूर्व नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, गौरीशङ्कर चौधरी लगायतका नेताहरू निर्वाचन आयोग पुगेर माओवादी केन्द्र पार्टी नै अवैध रहेकोले खारेजीको माग गरेका थिए । साथै उनीहरूले अवैध पार्टीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूलाई सांसद पदबाट हटाउने कारबाही अवैध रहेको भन्दै आयोगमा उजुरी दिएका थिए ।

