को होला सभापतिमा पौडेल पक्षको साझा उम्मेदवार? केसीले गर्दैछन् यस्तो तयारी


काठमाडौं– नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा संस्थापन पक्ष अर्थात् सभापति शेरबहादुर देउवाइतर समूहको साझा उम्मेदवार बनाउनका लागि व्यापक छलफलको तयारी गरिएको छ।

त्यसका लागि नेता अर्जुननरसिंह केसीले शुक्रबार संस्थापनइतरको बैठक राखेका छन्। जहाँ पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पनि डाकिएको छ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, रामशरण महत, शेखर कोइराला र सुजाता कोइरालालाई पनि बोलाइएको केसीले जनाएका छन्।

१३ औं महाधिवेशनकै घाइते आफू रहेकोले अहिले सभापति हुनुपर्ने दाबी पौडेलको छ। यसबीच संस्थापनइतरमा सभापतिका आकांक्षी धेरै छन्।

शेखरले पनि सभापतिमा आफूलाई बलियो दाबेदारका रूपमा प्रस्तुत गरेका छन्। उनी ब्याक नहुने स्पष्ट छ। कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म छ।

उता देउवा पक्षमा भने उपसभापति विमलेन्द्र निधिको मात्र दाबी रहेको छ। उनी जसरी पनि सभापतिमा उठ्ने अडानमा छन्। यसबीच निधिले महामन्त्री शशांक र प्रकाशमानसँग एउटा साझाल मञ्च तयार पारेका थिए।

केसीले भने संस्थापनइतर मध्ये एक जना सभापतिमा उठाएर महाधिवेशनलाई देउवाइतरको पक्षमा पार्न यो बैठक डाकेका हुन्। स्रोतले भन्यो,‘धेरै आकांक्ष हुने र मैदानमा जाँदा फेरि पनि देउवाले नै नेतृत्व हत्याउन सक्ने भएपछि यस्तो तयारी भएको हो।’

केसी १३ औं महाधिवेशनमा देउवाको खेमामा महामन्त्रीमा पराजित उम्मेदवार हुन्। तर देउवाले कांग्रेसको गति राम्रो नबनाएको भन्दै उनी विरोधमा लागेका थिए।

केसीले यसपटक सभापतिमा पौडेल वा शेखरको नाममा सहमति खोज्ने प्रयास गर्ने बताइन्छ। यद्यपि सभापतिकै लागि भने शशांक र प्रकाशमान पनि बलिया दाबेदारी प्रस्तुत गर्नेमा पर्छन्।

प्रतिक्रिया