

ललितपुरमा भेरोसेलको दोस्रो मात्रा असार २७ र २८ गते लगाइँदै

ललितपुर – ललितपुर महागरपालिकामा भेरोसेल खोपको दोस्रो मात्रा यही असार २७ र २८ गते लगाइने भएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालद्वारा आज जारी सूचनामा महानगरस्तरीय खोप समन्वय समितिको बैठकले सो निर्णय गरेको हो।
पहिलो मात्रा भेरोसेल लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइने सूचनामा जनाइएको छ । सूचनामा महानगरपालिकाका २९ वडामै खोप केन्द्र राखिने र पहिलो मात्राको खोप लगाएको कार्ड अनिवार्य साथमा लिएर आउन समेत आग्रह गरिएको छ ।
यसैगरी, ललितपुरमा रहेका दुई नगरपालिका महालक्ष्मी र गोदावरीमा भने आउँदो शुक्रबार सो खोप लगाइने सम्बन्धित नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
यसैगरी, दक्षिण ललितपुरमा रहेका तीन गाउँपालिकामध्ये कोञ्ज्योसोम र महाङ्कालमा आउँदो शुक्रबार एक दिन खोप लगाउनका साथै वागमतीमा भने २५ र २६ गते दुई दिन सो खोप लगाइने सम्बन्धित गाउँपालिकाले जनाएका छन् ।

