देउवाको समर्थनमा दिएको हस्ताक्षर ‘फिर्ता’, यसरी एमाले एकताको अन्तिम रुप दिँदैछ कार्यदल


काठमाडौं– सर्वोच्च अदालतमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समर्थनमा दिएको हस्ताक्षर फिर्ता लिने माधव नेपाल समूहको निर्णयसँगै एमाले एकताले अन्तिम रुप पाउने भएको छ।

उक्त हस्ताक्षर फिर्ता लिने मौखिक सहमतिसँगै विहीबार साँझ कार्यदलको बैठकमा एकताका अन्य विषयमा लिखित समझदारी हुने भएको हो। ‘अदालतमा प्रतिनिधि सभा विघटनबारेको सुनुवाई सकिएको छ। जुन प्रयोजनका लागि हस्ताक्षर गरिएको थियो त्यसको औचित्यबारे अदालतले बोल्न सक्छ, एमाले एकता हुने सवालमा अब त्यो हस्ताक्षर फिर्ता लिँदा फरक पर्दैन’, कार्यदलका एक जना सदस्यले भने,‘अब एमाले एक ढिक्का हुन्छ।’

बुधबार साँझ होटल मेरियटमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपालबीचको भेटमा पनि एउटा सहमतिमा पुग्ने तयारी भएको थियो। त्यसको जिम्मा कार्यदलले पाएको थियो।

विहीबार एक चरण बसेको कार्यदलको बैठकले आन्तरिक छलफल र ब्रिफिङपछि एमाले एकताको सन्देश दिने तयारी गरेको छ। यद्यपि कुनै प्रकारको ठूलो घटना नभए शुक्रबार ओली र नेपालले संयुक्त वक्तव्य जारी गर्ने उच्च स्रोतको दाबी छ।

कार्यदलमा रहेका नेपाल पक्षका नेता गोकर्ण विष्टका अनुसार छलफलका सबै पाटा सकारात्मक भएका कारणले एकीकरण अनिवार्य हुनेछ। यस्तै, नेपाल पक्षबाटै कार्यदलमा रहेका नेता सुरेन्द्र पाण्डेले पनि एकताको सन्देश दिइने बताइसकेका छन्।

कार्यदलको नेतृत्व गरिरहेका एमाले उपाध्यक्ष भिम रावलले पनि पार्टी एकीकरणका सवालमा हस्ताक्षरको अर्थ महत्वपूर्ण नमानिने बताइसकेका छन्।

नेपाल पक्षले राखेको एमालेलाई २ भदौ ०७५ को अवस्थामा लैजाने र पार्टी कमिटीको बैठक डाक्ने विषयमा ओली पक्ष सहमत छ। माओवादीबाट आएका नेता रामबहादुर थापा बादललगायतलाई व्यवस्थापन पनि तत्कालिन एमालेको बैठकबाट नै गरिने विषयमा सहमति भइसकेको छ।

प्रतिक्रिया